काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडवडी विमानको उडान मंगलबार राती रद्द भएको थियो । सो विमानका १ सय ७० यात्रुलाई निगम आफैले टु स्टारदेखि ५ स्टारसम्मका होटलमा राख्नु पर्यो । दुबईको उडानका लागि तयार भएको सो विमानलाई क्यानले उड्ने अनुमति नदिदा यात्रुहरुका लागि निगमले प्रतिव्यक्ति १५० डलर खर्च गर्नु परेको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार नेपालमा मात्रै यात्रुको अतिरिक्त खर्चको लागि २८ लाख ५६ हजार रुपैयाँ यात्रुको लागि एक रातको खर्च भएको जनाइएको छ ।
यस्तै दुबईबाट नेपाल फर्किन लागेका यात्रुहरुलाई समेत फ्लाइट डिले भएपछि होटल म्यारियटमा राखिएको थियो । त्यसको खर्च कति भयो भने बाहिर आउन सकेको छैन ।
नेपाल नागरिक उड्यन प्राधिकरणले १९ चैत मंगलबार राती ९ः१५ बजेको निगमको आरए २३१ कलसाइनको विमान उडान अकस्मात रद्द गरिएको बारे छानबिन गर्न समिति गठन गरेको छ ।
बुधबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
सो छानबिनको रिपोर्ट ५ दिनमा पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।
मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिमा निगमका निर्देशक ईञ्जिनियर राजेश श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक बिक्रम गौतम र एक जना प्रहरी बरिष्ठ उपरिक्षक सदस्य छन् ।
निगमका प्रवक्ता क्यापटेन विजय लामाले विमान स्थलको अनियमित्ताका कारण निगमले लाखौँको घाटा बेहोर्नु परेको बताएका छन् ।
‘१४ जना चालकदल सहित २ सय ७४ यात्रु रहेको सो विमानको उडान रद्द भएपछि होटलमा राख्नु पर्दा कस्तो समस्या बेहोर्नु पर्यो होला तपाई आफै सोच्नुस न’ क्याप्टेन लामाले मेरोअटोसँग भने ।
उनले राष्ट्रिय ध्वजाबाहक जाहजभन्दा विदेशी जहाज क्यानको प्राथमिकतामा परेको बताए । विमानस्थलले नेपाल एयरलाईन्सलाई हेपाहा प्रवृति देखाएको उनको भनाई छ ।
बोडिङ सकेर उड्न तयार भएको भएको फ्लाइट यसरी रोक्नु नहुने निगम सहप्रवक्ता नवराज कोइरालाको भनाई छ ।
‘हरेक राष्ट्रमा राष्ट्रिय ध्वजाबाहक जहाजलाई पहिलो प्राथमित्तामा राख्ने गरिन्छ, त्यही अनुसार नेपाल एयरलाइन्सलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा यहाँ भने फरक भएको उनले गुनासो गरे ।
‘सँगै रहेको अर्को प्लेन उडाउन मिल्ने अनि राष्ट्रिय ध्वजाबहाक प्लेन उडाउन नदिने त्यसले समस्या खडा गरेको हो,’ कोइरालाले भने ।
उनले साधारण २/३ स्टार होटलमा यात्रुलाई राख्दा १ सय डलरदेखि १ सय ५० डलरको हाराहारीमा खर्च हुने गरेको जानकारी दिए । त्यही अनुसार निगमले २८ लाख ५६ हजार रुपैयाँको हाराहारीमा यात्रुको खर्च काठमाडौंमा बेहोर्नु परेको हो ।
‘१० बज्न तीन मिनेट बाँकी हुँदा ड्राय्गन उड्यो तर नेपाल एयरलाइन्सको जहाज भने उड्न पाएन, यस्तो कुन देशमा हुन्छ, आफ्नो देशको प्लेन उड्न नदिने, अरुको देशको प्लेन उडाउन दिने ?,’ कोइरालाले भने ।


