सेती नदी सिग्नेचर पुल : म्याद सकिँदा आधा मात्रै काम, थपियो म्याद

काठमाडौं । मुग्लिन-पोखरा सडक आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुल ठेक्का म्याद सकिँदासम्म आधा मात्रै काम सम्पन्न भएको छ ।

‘कोकेबल-स्टेड’ प्रविधिमा निर्माण भइरहेको उक्त पुलको ३ वर्षे ठेक्का म्याद गत भदौमा सकिएको छ । तर, हालसम्म करिब ५० प्रतिशत मात्रै काम पूरा भएको हो ।

उक्त पुलको अझै ५० प्रतिशत काम बाँकी रहेको हो । विक्रम संवत् २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो भने २०८० कात्तिकबदेखि काम सुरू गरेको थियो ।

पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने) का प्रमुख कृष्णबहादुर कुँवरले ३ वर्षको सम्झौता अवधि भए पनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको बताए। पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिए पनि अपेक्षित प्रगति हुन नसकेको उनले बताए ।

तोकिएको समयमा काम नसकिएपछि ठेक्का म्याद २०८३ वैशाखसम्म थपिएको उनले जानरीका दिए । अहिलेको गतिमा काम भए थपिएको म्यादमा पनि काम सकिनेमा आशंका रहेको उनले बताए ।

‘अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ । निर्माण कम्पनीले पुलका लागि चाहिने केवललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो,’ उनले भने । चीनबाट पुलको केवल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरेको प्रमुख कुँवरले बताए।

‘केबल-स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ। चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीको भनाइ छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । यो पुलको लागत भ्याटबाहेक ९४ करोड रूपैयाँ रहेको छ ।

१९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ। हाल भइरहेको पुललाई समेत गणना गर्दा ६ लेनको पुल हुनेछ । ६ लेनको मुग्लिन पोखरा सडकमा अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई नयाँ ‘सिग्नेचर’ पुल बनिरहेको छ ।

‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ। यसलाई थप आकर्षण दिन आधुनिक तवरका बत्तीहरू पनि जडान गर्ने योजना रहेको छ । सो बत्तीको जडानले रातको समय पोखरालाई झिलिमिली पार्नेछ ।

पोखरा-मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजना अन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन्।

आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने) मा ११ पुल बनिसकेका र दुई पुल निर्माणाधीन अवस्थामा छन्। तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला-१, फेदीखोला-२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको छ।


Back_to_top