काठमाडौं । नेपालमा मोबिलिटीको मुख्य साधन नै दुईपाँग्रे सवारीभन्दा फरक पर्दैन । किनभने कुल सवारीसाधनमा झण्डै ८० प्रतिशत हिस्सा मोटरसाइकल स्कुटरको रहेको छ ।
यातायात व्यवस्था विभागको तथ्यांक अनुसार गत असार मसान्तसम्म देशभर कुल साढे ५८ लाख सवारी दर्ता हुँदा ४७ लाख मोटरसाइकल/स्कुटर छन् ।
सार्वजनिक यातायात सहज, भरपर्दो, सुविधायुक्त छिटोछरितो नहुँदा आममानिस बाध्यतावस निजी सवारीतर्फ आकर्षित भइरहेका छ । केही मध्यम र उच्च वर्गले कार चढे पनि वहुसंख्य मानिस मोटरसाइकल/स्कुटर नै चढ्छन् । त्यसमा पनि सबैले नयाँ सवारी साधन किन्न सक्दैनन् । उनीहरू सेकण्ड ह्याण्ड सवारी किनेर प्रयोग गर्छन् ।
एकीन तथ्यांक नभए पनि सेकेण्ड ह्याण्ड मोटरसाइकल/स्कुटरको किनबेच (संख्याका आधार) नयाँको तुलानामा झण्डै दोब्बर हुने गरेको व्यवसायीहरू बताउँछन् ।
नेपालमा वार्षिक करिब साढे २ लाख बढी सेकेण्ड ह्याण्ड मोटरसाइकल/स्कुटर किनबेच हुने गरेको अनुमान छ । जबकि नेपालमा औसतमा वार्षिक १ लाख बढी नयाँ मोटरसाइकल/स्कुटर आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले दैनिक औसतमा ५०० हाराहारीमा नामसारी हुने गरेको जानकारी दिए । सोमध्ये ३०० देखि ३५० वटा पुराना सवारी हुने गरेको उनले बताए । गत आवमा मात्रै गुर्जुधारबाट १ लाख ७६ हजार ९३६ वटा मोटरसाइकल/स्कुटरको नामसारी भएको उनले बताए ।
‘यहाँबाट दैनिक औसतमा ५०० हाराहारीमा सवारीको नामसारी हुने गरेको छ । जसमा १०० देखि १५० वटा नयाँ र ३०० देखि ३५० वटासम्म पुरानाको नामसारी हुने गरेको छ,’ उनले मेरोअटोसँग भने । यस आधारमा गुर्जुधारबाट मात्रै वार्षिक सवा १ लाखदेखि डेढ लाख पुरना सवारीको नामसारी हुने गरेको देखिन्छ । गुर्जुधारा देशकै सबैभन्दा ठूलो यातायात कार्यालय हो । जहाँ करिब १६ लाख सवारी साधन दर्ता छन् ।
नेपाल अटोमोबाइल रिकण्डिसन व्यवसाय संघका अध्यक्ष श्याममणि आचार्य वार्षिक करिब अढाई लाख बढी पुराना सवारी किनबेच हुने गरेको बताउँछन् ।
उनका अनुसार देशभर झण्डै २५० रिकण्डिसन हाउस छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै २०० बढी रहेका छन् । उपत्यका बाहिर चितवन, पोखरा, भैरहवा, विराटनगर, धनगढी, जनकपुर, बुटवल लगायत ठूला सहरमा पनि रिकण्डिसन हाउस रहेका छन् ।
‘ठ्याकै यति नै संख्याका पुराना मोटरसाकल/स्क्ुटर किनबेच हुन्छ भन्ने तथ्यांक छैन । तर, वार्षिक साढे २ लाख बढी कारोबार हुने अनुमान छ,’ उनले मेरोअटोसँग भने । एकिन तथ्यांक नभए पनि दुईपाँग्रे रिकण्डिसन बजारको आकार १५ देखि २० अर्बको रहेको अनुमान छ ।
३० हजारदेखि पाइन्छ मोटरसाइकल
रिकण्डिसन बजारमा न्यूनतम ३० हजार रुपैयाँदेखि मोटरसाइकल स्कुटर पाइने अध्यक्ष आचार्य बताउँछन् । ‘सेकेण्डह्याण्ड मोटरसाइकलको मूल्य नयाँको जस्तो ठ्याक्कै यति नै भन्ने हुँदैन । सवारी साधनको कण्डिसन, कति वर्ष पुरानो, माइलेज लगायत आधारमा निर्धारण हुन्छ,’ उनले मेरोअटोसँग भने, ‘बजारमा न्यूनतम ३० हजारदेखिका सवारी पाइन्छ । प्रिमियम ब्राण्डका पुराना मोटरसाइकल ८/१० लाखसम्म पनि पर्छ ।’
सामान्यतया १ देखि डेढ लाख हाराहारीमा राम्रै कण्डिसनको मोटरसाइकल पाइने उनले बताए । रिकण्डिसन बजारमा बजाज, यामाहा, टीभीएस, हिरो, होण्डा, रोयल इनफिल्ड, भेष्पा/अप्रिलिया लगायत ब्राण्डका मोटरसाइकल स्कुटर खरिदबिक्री हुने गर्छ ।
छैन फाइनान्स सुविधा
प्रायः सबै नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्दा सहजै फाइनान्स (किस्ताबन्दी) सुविधा पाइन्छ । हायर पर्चेज, सहकारी, फाइनान्स कम्पनीहरूले ऋण दिन्छन् । तर, पुराना सवारी किन्न फाइनान्स सुविधा उपलब्ध नरहेको अध्यक्ष आचार्य बताउँछन् ।
अहिले सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पुराना सवारी किन्न ऋण पाउने अवस्था नरहेको उनले बताए । ‘नयाँ सवारी किन्न सजिलै ऋण पाइन्छ । तर, पुरानो पाइँदैन । पहिला केही सहकारीले दिन्थे । अहिले त्यो पनि बन्द भएको छ,’ उनले भने, ‘अहिले हुलास फिनसर्भले दिन्छ भन्ने सुनेको छु । तर, सबै क्राइटएरिया मिट गरेर ऋण लिन निकै कठिन छ ।’
सरकारले पुराना सवारी खरिदमा पनि फाइनान्स सुविधा व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय अनलाइनमार्फत, व्यक्तिव्यक्ति बीच पनि सवारी किनबेच हुने क्रम बढेकाले रिकण्डिसन व्यवसायमा चुनौती थपिँदै गएको उनले बताए ।
जेनजी आन्दोलन अघि केही चलायमान रहेको रिकण्डिसन बजार अहिले सुस्त रहेको उनले बताए । ‘पछिल्लो समय रिकण्डिसन बजार केही चलायमान बन्दै थियो । तर, जेनजी आन्दोलनपछि फेरि सुस्त बन्यो । यसवर्ष फेस्टिभ सिजनमा समेत व्यापार भएन,’ उनले भने ।

