काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर ठूलो धनजनको क्षति भयो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारदेखि निजी सम्पत्तिमा समेत आगजनी गरियो ।
देशभरका सयौं सरकारी कार्यालय, भवन, राजनीतिक दलका नेताका घर, निजी क्षेत्रका होटल, केबलकार, गाडी शोरुम लगायत निशानामा पारियो । भौतिक संरचनासँगै हजारौं संख्यामा निजी तथा सरकारी सवारी साधन खरानी बनाइयो ।
आन्दोलनकारीले देशमा शान्ति सुव्यवस्था कायम गराउने नेपाल प्रहरीदेखि सडकमा सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरी समेत कसैलाई छाडेनन् । देशभर सयौं प्रहरी तथा ट्राफिक बिटमा आगजनी गरियो ।
काठमाडौं उपत्यकामा रहेका ट्राफिकका ७८ कार्यालयमध्ये ५८ वटामा आगजनी तथा तोडफोड गरिएको थियो । जसमा ३७ वटामा पूर्ण रुपमा र २१ वटामा आंशिक क्षति भएको थियो ।
त्यस्तै, ट्राफिक प्रहरीका १११ सवारी साधनमध्ये ८६ वटा (६० दुईपाँग्रे र २६ वटा चारपाँग्रे) सवारी साधन जलाइए । कार्यालय प्रयोजनका प्रयोग गर्न ट्राफिकसँग ४ वटा चारपाँग्रे र २१ वटा दुईपाँग्रे सवारी साधनमा मात्रै सुरक्षित रहेका थिए ।
त्यस्तै, आन्दोलनका क्रममा ट्राफिक प्रहरीका १७०० बढी अत्यावश्यक उपकरणहरू जलेर नष्ट भए । ब्रेथलाइजर, वेयरेबल क्यामेरा, भ्वाइस रेकर्डर, राडर गन, म्याजिक लाइट नष्ट, इचलान जाँच गर्ने मोबाइल लगायत उपकरण नष्ट भएका थिए ।
सवारी साधन र आवश्यक उपकरण नहुँदा केही समय नियमित ट्राफिक चेकिङ समेत रोकिएको थियो । यद्यपि, अहिले भने चेकिङ सुरू भइसकेको ट्राफिकले जनाएको छ । त्यस्तै, ट्राफिक कन्ट्रोल रुम समेत संचालनमा आइसको छ भने कारबाहीमा परेकाहरूलाई दिइने सचेतना कक्ष पनि सुरू भइसकेको छ । यातायात व्यवस्था विभागको अनलाइन प्रणाली संचालनमा नआएकाले मोबाइलबाटै ई चिट काट्ने काम भने सुरू भएको छैन ।
आन्दोलनबाट ठूलो क्षति व्यहोरेको ट्राफिकले अहिले कसरी सवारी साधन जोहो गरी काम गरिरहेको छ ? सवारी अभावमै दैनिक कामकारबाही प्रभावित भएको त छैन ?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त (प्रहरी उपरीक्षक) नरेशराज सुवेदीले दैनिक कामकारबाही संचालनका लागि सवारी साधन अभाव नरहेको बताए ।
उनले ट्राफिकलाई प्रहरी प्रधान कार्यालय र निजी क्षेत्रले करिब ४ दर्जन सवारी साधन उपलब्ध गरएको जानकारी दिए । आन्दोलनमा सुरक्षित रहेका र आन्दोलनपछि उपलब्ध सवारी साधन प्रयोग गरी दैनिक काम कारबाही संचालन भइरहेको उनले बताए ।
‘आन्दोलनमा ट्राफिकका ८६ सवारी साधन जलाइएका थिए । तिनको सट्टामा अहिले प्रहरी प्रधान कार्यालय र निजी क्षेत्रले उपलब्ध गराएका सवारी साधनले गरिरहेका छन् । साथै, आन्दोलनमा सुरक्षित रहेका २५ वटा सवारी पनि प्रयोग गरिरहेका छौं,’ उनले मेरोअटोसँग भने, ‘सवारी साधनको अभावमा दैनिक काम कारबाही रोकिएको अवस्था छैन । आवश्यकता अनुसार नै उपलब्ध छन् ।’
निजी क्षेत्रबाट गोल्छा ग्रुपले २० वटा (बजाज पल्सर १५०) र एमएडब्लू फाउण्डेसनले १० वटा (यामाहा एफजेड एस भी ३) मोटरसाइकल उपलब्ध गराएका थिए ।
ट्राफिक प्रहरी कार्यालय आफैंले नयाँ सवारी खरिद नगर्ने उनले बताए । प्रहरी प्रधान कार्यालयले नै आवश्यकता अनुसार सवारी खरिद गरेर उपलब्ध गराउँदै आएको उनको भनाइ छ । ‘ट्राफिक प्रहरी आफैंले नयाँ गाडी किन्दैन । प्रहरी प्रधान कार्यालयले नै आवश्यकता अनुसार उपलब्ध गराउँछ,’ उनले भने ।
प्रहरीले ५०० वटा गाडी खरिदका लागि अर्थमन्त्रालयसँग प्रस्ताव पेश गरेको छ । यद्यपि, अर्थले २५१ वटालाई स्रोत अनुमति दिएको बताइएको छ ।

