कार बिक्रीमा रेकर्ड बनाउँदै जिली ग्रुप

एजेन्सी । चिनियाँ अटोमोवाइल ग्रुप जिलीले रेकर्ड बिक्री भेट्टाएको छ । कम्पनीले अक्टोबर महिनामा ३ लाख ७ हजार १३३ युनिट कार बिक्री गर्दै रेकर्ड बनाएको हो ।

कम्पनीले अक्टोबर महिनामा आफ्ना विभिन्न सहायक ब्राण्डको सहायताले उक्त बिक्री संख्या भेट्टाएको हो । कम्पनीले जारी गरेको बिक्री तथ्यांक रिटेल भने होइन । यो उत्पादनपछि होलसेल बिक्री गरिएको तथ्यांक हो ।

जिली ग्रुपको बिक्रीमा सबैभन्दा ठूलो हिस्सा ग्यालेक्सी ब्राण्डको हो । जसमा ईभी र हाइब्रिड मोडल उत्पादन हुँदै आएको छ । अक्टोबर २०२५ मा ग्यालेक्सी ब्राण्डको होलसेल बिक्री १ लाख २७ हजार ४७६ युनिट पुगेको छ ।

जिलीको बिक्रीमा ग्यालेक्सीको भूमिकालाई सन् २०२५ को जनवरीदेखि अक्टोबर अन्तिमसम्मको बिक्री तथ्यांकले पनि पुष्टि गर्छ । जिली ग्रुपले सन् २०२५ को १० महिनामा २४ लाख ७७ हजार ३२२ युनिट कार बिक्री गरेको छ । जसमा ग्यालेक्सी ब्राण्डको १० लाख २ हजार ४६१ युनिट पुगेको हो ।

जिलीको अन्य ब्राण्डहरु जिकरले अक्टोबरमा २१ हजार ४२३ युनिट बिक्री गर्दा लिङ एण्ड को ब्राण्डले ४० हजार २१३ युनिट कार बिक्री गरेको छ । ग्यालेक्सी, जिकर र लिङ एण्ड को बाहेक १ लाख १८ हजार युनिट कार कम्बस्चन लगायत अन्य ब्राण्डबाट बिक्री पाएको हो ।

कम्पनीले अक्टोबरमा बिक्री गरेको ३ लाख ७ हजार १३३ मध्ये चीनमा २ लाख ६५ हजार ५६५ युनिट र अन्तर्राष्ट्रिय बजारमा ४१ हजार ५६८ युनिट निर्यात गरेको छ ।


Back_to_top