फ्रान्सको प्रिमियम कार उत्पादक कम्पनी प्यूजोले बेलायतको कार निर्माता कम्पनी ज्यागुअर ल्यान्डरोभरसँग मर्जर हुने इच्छा व्यक्त गरेको छ । प्यूजो कम्पनीका सीइओ कार्लाेस टाभेरेजले लक्जरी कार निर्माणको योजना बनाइरहेको अवस्थामा जेएलआरसँगको सहकार्य लाभदायक हुने बताएका हुन् ।
उनले जेएलआरसँग मर्ज हुँदा प्यूजो कम्पनीले लक्जरियस गाडीको उत्पादनलाई अगाडि बढाउन सक्ने बताएका छन् । पीएस ग्रुपले तत्कालका लागि ‘पुस टू पास’को अवधारणा निर्माण गरेको बताउदै टाभेरेजले इलेक्ट्रीक तथा डिजिटल उत्पादनको विस्तारका लागि पनि मर्जरको योजना बनाइएका हुन् । यद्यपी, कम्पनीले यसबारे जेएलआरसँग कुनै छलफल नगरेको जानकारी दिएको छ ।
उनले भने ‘मर्जर दुबै कम्पनीको लागि ठूलै उपलब्धिको विषय बन्नेछ । विशेषत, हाल संकटमा रहेको जेएलआर कम्पनीको लागि यसले निक्कै उर्जा प्रदान गर्ने हाम्रो विश्वास रहेको छ ।’ जेएलआर कम्पनी टाटा मोटर्सको स्वामित्वमा संचालित छ ।
कम्पनीले २०१८ को अक्टोबर र डिसेम्बरमा १ लाख ४४ हजार ६ सय २ युनिट कार बिक्री गरेको थियो भने २०१७ को सोही अवधिमा १ लाख ५४ हजार ४ सय ४७ युनिट कार बिक्री गरेको थियो ।
यस अघि पनि सन् २००१ मा प्यूजो र टाटा मोटर्सबीच सहकार्य भएको थियो । दुबै कम्पनीको सहकार्यमा निर्माण भएको ३०७ ह्याचब्याक र नोचब्याकले बजार लिन असफल भएसँगै दुई कम्पनीबीचको सहकार्यले निरन्तरता पनि पाउन सकेन ।
सन् २०१४ मा प्यूजोले पुन टाटा मोटर्संसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेता पनि सफल हुन सकेन । प्यूजोको मर्जरको इच्छाबारे टाटा मोटर्सले पनि आफ्नो जवाफ फर्काएको छ । टाटा कम्पनीका एक सदस्यले तत्काल जेएलआर ग्रुपको हिस्सेदारी छोड्ने कुनै योजना नभएको बताउँदै यसको भविष्यलाई मध्यनजर गर्दै पीएसएसँग सहकार्यसम्म गर्न सकिने जवाफ दिएका छन् ।
नेपाली बजारमा केही वर्षअघि प्रवेश गरेको प्यूजोले आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभी २००८ र ३००८ रहेको छ भने सेडान–५०८, इलेक्ट्रीक कार पार्टनर इभीलगायतका मोडल बिक्री गइरहेको छ ।


