काठमाडौं । नेपालमा हिरोको डबल पर्पस एड्भेन्चर मोटरसाइकल एक्सपल्स २१० को नयाँ भेरियन्ट चाँडै बिक्री सुरु हुने भएको छ ।
हिरोको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर अन्तर्गतको हिरो मोटोकर्पले एक्सपल्स २१० को अग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातमा बिक्री सुरु गर्ने तयारी गरेको हो ।
कम्पनीले अहिले नयाँ एक्सपल्स २१० नेपालका विभिन्न भू-भागमा परीक्षण गरिरहेको छ । साथै, हिरो मोटोकर्प इन्डिया र नेपालको सहकार्यमा हालै एक्सपल्स २१० को ‘मिस्टिक मुस्ताङ’ राइड सम्पन्न भएको छ ।
एक्सपल्सको बिग भर्सन एक्सपल्स २१० नेपालमा चाँडै सार्वजनिक हुने भएसँगै एक्सपल्सको चार भेरियन्ट उपलब्ध हुने भएको छ । हाल नेपालमा एक्सपल्स २०० फोर भी, २०० फोर भी २०० ओबीडी टू र एक्सपल्स २०० प्रो भर्सन बिक्री हुँदै आएको छ ।
एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ७५ हजार ९०० रुपैयाँ, फोर भी ओबीडी टूको मूल्य ४ लाख ९५ हजार ९०० रुपैयाँ र २०० फोर भी प्रोको मूल्य ५ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ । नयाँ आउने एक्सपल्स २१० को मूल्य भने ५ लाख ५० हजार हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।
नेपाली बाटो सुहाउँदै डबल पपर्स डिजाइनको यो मोटरसाइकलमा २०० सीसी लिक्विड कुल्ड इन्जिन छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ ।
एक्सपल्स २०० मा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील उपलब्ध छ । यसको अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । सिंगल च्यानल एबीएस, एलईडी हेडल्याम्प, केनेक्टिभिटी फिचर, टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर उपलब्ध छ । एक्सपल्स २०० फोर भी प्रो मोडलमा भने, धेरै ग्राउण्ड क्लियरेन्स, नयाँ ग्राफिक्स, नयाँ सस्पेन्स सेटअप पाउन सकिन्छ ।

