काठमाडौं । विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलले पाँचौ पुस्ताको एलएफपी ब्याट्री सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको पाँचौ पुस्ताको एलएफपी ब्याट्री इनर्जी डेनसिटी र लाइफ साइकल धेरै भएर आएको हो ।
सीएटीएलको नयाँ जेनेरेशन एलएफपी ब्याट्री ९०० वटा विद्युतीय जहाज र ठूला हेभी ड्यूटी साधनमा प्रयोग हुने कम्पनीले जनाएको छ । नयाँ ब्याट्री विभिन्न परीक्षणमा खरो उत्रिएपछि मात्रै बजारमा आएको कम्पनीको दावी छ । यसले टाइप सर्टिफिकेट, प्रोडक्सन सर्टिफिकेट, एयरवर्दिनेस सर्टिफिकेट र अप्रेसन सर्टिफिकेट पाइसकेको छ ।

नयाँ जेनेरेसनको एलएफपी ब्याट्रीका बारेमा ‘विश्व ब्याट्री सम्मेलन २०२५’मा बोल्दै सीएटीएलका अध्यक्ष तथा सीईओ रोबिन जेङले भने, ‘नयाँ ब्याट्रीले यसअघि बजारमा उपलब्ध दोस्रो र तेस्रो पुस्ताको एलएफपी ब्याट्रीको तुलनामा धेरै ऊर्जा संचिति र लामो लाइफ साइकल प्रदान गर्नेछ ।’
नयाँ जेनेरेशन एलएफपी ब्याट्रीमा प्रयोग हुने कच्चा पदार्थको सिमितताको विषयमा बोल्दै अध्यक्ष जेङले आफुहरु अन्य ब्याट्री उत्पादनमा पनि केन्द्रित रहेको बताए । उनले विकल्पमा सन् २०२५ को सुरुवात मै कम्पनीले देखाएको ‘नक्स्ट्रा सोडियम आयन ब्याट्री’ हुन सक्ने धारणा राखे ।
जेङका अनुसार नक्स्ट्रा ब्याट्रीहरु लिथियम आयनको तुलनामा चिसो स्थानमा उत्कृष्ट पर्फमेन्स गर्न सक्ने किसिमका हुन्छन् । साथै, यसको प्रयोगले हाइ अल्टिटीयुटमा पनि राम्रो पर्फमेन्स हुनेछ ।
चिनियाँ ब्याट्री निर्माता सीएटीएलले विश्वको हाइ भोल्टेज ब्याट्री बजारमा ४३ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले अहिले पनि टर्नरी लिथियम ब्याट्री धेरै उत्पादन गर्छ । कुल उत्पादनमा टर्नरी ब्याट्रीको हिस्सा ६५ प्रतिशत माथि छ ।
एलएफपी ब्याट्री भने केबल ३५ प्रतिशत हाराहारी मात्रै छ । सीएटीएल चीनबाट ब्याट्री निर्यातमा पनि अब्बल छ । कम्पनीले सन् २०२५ मा चीनबाट निर्यात भएको २०० गिगावाट आवरमा एक्लै १२० गिगावाट आवर ब्याट्री निर्यात गरेको हो ।

