यी हुन् ५ महिना भित्र नेपाल आउने नयाँ एसयूभी, कस्तो रहला मूल्य ?

काठमाडौं । नयाँ वर्षको आगमन भइसकेको छ । २०७५ हामीबाट विदा भइसकेको छ । अब नयाँ वर्षमा नयाँ सवारीसाधनको चर्चा सुरु भएको छ । यस्तोमा २०७६ सालमा कुन र कस्ता मोडलका सवारीसाधन आउने छन् भन्ने कौतुहलता हुनु स्वभाविक हो ।

पछिल्ला दिनमा एसयूभी सेग्मेन्टमा ग्राहकको आर्कषण बढ्दै गएकाले यस वर्ष नेपाली बजारमा आउने संभावित एसयूभीको बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।

बैशाखमै एक्सयूभी–३००

महिन्द्रा एन्ड महिन्द्राको कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’को आधिकारीक बिक्री यही बैशाखको दोस्रोबाट सुरु हुने कम्पनीले जनाएको छ । यद्यपी कुन दिनबाट सुरु हुनछ भन्ने विषयमा भने केही खुलाईएको छैन ।

नेपाली बजारमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेटले यसलाई ‘महिन्द्रा उदय’ अटो शोमा सार्वजनिक भने गरिसकेको थियो ।

कोरियन मोटर कम्पनी स्याङ्योङको कम्प्याक एसयूभी टिभोलीमा आधारित ‘एक्सयूभी–३००’ फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको थियो ।

महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन एक्सयूभी–५०० फेसलिफ्टको जस्तै आक्रामक रहेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । साथै, कम्पनीले गाडीको क्याबिन भने आफ्नो लेटेस्ट एमपीभी मराजोको जस्तै आकर्षक बनाएको जनाएको छ ।

यसमा सेग्मेन्ट फस्र्टसेफ्टी फिचर दिइएको छ । टप भेरियन्टमा सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, इबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० सुसज्जित रहेको छ ।

१.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिनले १२१ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल लगाइएको छ भने चाँडै एमटी भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यसको बजार मूल्य करिब ४० लाखदेखि ५२ लाख रुपैयाँ भित्र रहने अनुमान गरिएको छ ।

जेठको पहिलो साता ह्यारीयर


टाटा मोटरको प्रिमियम एसयूभी ह्यारीयर जेठमा नेपाली बजारमा आउने अनुमान छ । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले जेठको पहिलो साता ह्यारीयरलाई सार्वजनिक गर्ने योजना बनाएको छ । 

टाटा ह्यारीयर ज्यागुअर ल्यान्ड–रोभरको एल–५५० प्लेट–फर्ममा निर्माण भएको एसयूभी हो । ह्यारीयरको फ्रन्टमा स्किड–प्लेट दिइएको छ भने, ड्यूल–बीम हेडल्याम्प र फग–ल्याम्पले गाडीलाई निकै आर्कषक बनाएको छ ।

यसको पछाडिको ग्लास ठूलो दिइएको छ भने, ट्वीक्ड–ल्याम्पसमेत दिइएको छ । यसमा लो–सेट फग–ल्याम्प राखिएको छ । टाटा ह्यारीयरको इन्टेरियरमा कूल्ड–स्टोरेज, मल्टी–फङ्सन ह्वील,प्रिमियम लेदर–सिट, ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर एसी भेन्ट, लार्ज–मल्टी इन्फरमेसन डिस्प्ले, तथा मल्टी फङ्सन स्टेरिङ ह्वील दिइएको छ ।

सार्क फिन एन्टेना, लेदर सिट, ६ एयरब्याग, इएसपी, आइसोफिक्स चाइल्ड सिट माउन्ट र हिल होल्ड तथा हिल डिसेन्ट कन्ट्रोलजस्ता फिचर उपलब्ध छन् ।

कम्पनीले यस गाडीमा अल–न्यू २.० लिटर क्राइओटेक डिजेल इन्जिन दिएको छ । यो इन्जिन एफसीए भारतले बनाएको २.० लिटर मल्टिजेट आईआई युनिटको रिब्रान्डेड इन्जिन हो । यसले १४० पीएस पावर र ३५० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल र सिक्स–स्पीड अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

यसको सुरुवाती मूल्य ६० लाखदेखि टप भेरियन्टको मूल्य ८० लाखसम्म पर्ने अनुमान गरिएको छ ।  

हुन्डाई भेन्यू


हुन्डाईको चर्चित कम्प्याक्ट कार भेन्यू क्युएक्सआई कोडनेममा निर्माण भएको हो । कारको फ्रन्ट साइडमा उपलब्ध क्यासकेडिङ ग्रिलले भेन्यूलाई थप स्पोर्टी बनाएको कम्पनीको विश्लेषण छ । यो कारको आकार क्रेटा भन्दा केही सानो रहेको छ ।

हुन्डाई भेन्यू तीन इन्जिन अप्सनमा उपलब्ध हुनेछ । १.४ लिटर पेट्रोल इन्जिनले ९९ बीएचपी पावर दिन्छ । डिजेल इन्जिनयुक्त भेन्यू पनि १.४ लिटरमै उपलब्ध हुनेछ जसले ८९ बीएचपी पावर दिन्छ । त्यस्तै १.० लिटर ३ सिलिन्डर टर्बोचार्जड पेट्रोल इन्जिनमा समेत आउने छ ।

एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्ने ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सनरुफसमेत रहेको छ । यो कारमा डियूल फ्रन्ट एयरब्याग, एबीएस वीथ इबीडी र रेयर पार्किङ सेन्सर उपलब्ध रहेको छ ।

यसको नेपाली बजारमा आधिकारीक बिक्री नाडा अटो शो २०१९ बाट सुरु हुने अनुमान गरिएको छ । हुन्डाईका गाडी नेपाली बजारमा लक्ष्मी इन्टेरकन्टिनेन्टलले उपलब्ध गराउँदै आएको छ । 

किया एसपी


किया मोटरले भारतमा उत्पादन गरेको ‘एसपी–२ आई’ कम्प्याक एसयूभी यही वर्ष नेपाली बजारमा समेत सार्वजनिक हुनेछ । भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा समेत आउने अनुमान गरिएको यो एसयूभी आगामी नाडा अटोमा नेपाली बजारमा पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।

कियाको ‘एसपी–२ आई’ मोडलमा स्लिम एलईडी हेडलाइट, सिग्नेचर टाइगर नोज ग्रिल, स्पोर्टी बम्पर विथ राउन्ड सेप फग लाइट्स, ओआरभीएमएस इन्र्टगेटेड टर्न सिङ्गनल, १७ इन्च मेसिन कट आलोय ह्वील, सबै पांग्रामा डिस्क–ब्रेक दिएको छ भने, टल–पिलर, कम्प्याक रियर इन्ड होरिजेन्टल एलईडी टेल लाइट्स जस्ता आधुनिक फिचर दिइएको जनाएको छ ।

उक्त मोडलमा १.५ लिटर पेट्रोल र डिजेल पावरट्रेन दिइएको छ । उक्त इन्जिन भारतमा लागू हुने नयाँ इमिशन मापदन्ड बीएस–६ अनुसारको हुनेछ । यसलाई कम्पनीले म्यानुयल र अटोमेटीक दुबै गियर अप्सनमा ल्याउने छ ।

नेपाली बजारमा यसको अनुमानित मूल्य ४५ लाखदेखि ६० लाख रुपैयाँसम्म रहने छ ।

एमजी जेडएस इलेक्ट्रीक


मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘जेडएस’ २०१९ को सेप्टेम्बरमा वेलायतमा सार्वजनिक गर्ने भएको छ । यसको साथै कम्पनीले नेपाली बजारमा समेत यो एसयूभीलाई सार्वजनिक गर्ने तयारी गरेको हो ।

नेपाली बजारमा एमजीका उत्पादन पारामाउन्ट मोटर्सले आधिकारीक रुपमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा उक्त इलेक्ट्रीक गाडी ल्याउने पक्का भैसकेको जनाएको छ । यद्यपी कुन महिनामा सार्वजनिक गर्ने भन्ने विषयमा भने केही खुलाएको छैन ।

सम्भबत आगामी नाडा अटो शो २०१९ बाट नेपाली बजारमा पनि एमजी जेडएस इलेक्ट्रीकको बिक्री वितरण सुरु हुने अनुमान गरिएको छ । यसलाई नेपाली बजारमा करिब ५० लाख मूल्यमा खरिद गर्न सकिने अनुमान गरिएको छ ।

कम्पनीले आफ्नो नयाँ एसयूभीलाई एकपटकको चार्जमा ३५० देखि ४६० किलोमिटर रेन्ज प्रदान गर्न सक्नेगरी उत्पादन गरेको जनाएको छ ।


Back_to_top