काठमाडौं । नेपालमा अधिकांश पूर्वाधार आयोजना समयमै सम्पन्न नहुने रोगबाट ग्रसित छन् । पूर्वतयारी बिनै ठेक्का लगाउने, ठेकेदारको हेलचक्र्याइँ र लापारबाही, बजेट अभाव, स्थानीयको अवरोध लगायत कारणले अधिकांश आयोजना समयमै सम्पन्न हुँदैनन् ।
हाल २ हजार बढी सडक र पूल ठेक्का जीर्ण अवस्थामा छन् । तीमध्ये केही आयोजना वर्षौं होइन, दशकौंसम्म सम्पन्न नभएका दृष्टान्त छन् ।
यसैबीच, खोटाङमा एउटा मोटरेबल पुल भने तोकिएको समयभन्दा १ वर्ष अगावै सम्पन्न भएको छ । बराहपोखरी गाउँपालिका-५ पौवसेरा र जन्तेढुंगा गाउँपालिका-१ देवीस्थान जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल निर्माण थालिएको १ वर्षमै निर्माण सम्पन्न भएको हो ।
उक्त पुल साढे २ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी २०८१ साल वैशाख ३० गते ठेक्का सम्झौता गरिएको थियो भने २०८१ मंसिर ६ गतेदेखि निर्माण थालिएको थियो । २०८३ कात्तिक ३१ गतेसम्म बन्नुपर्ने उक्त पुल १ वर्ष अगावै सम्पन्न भएको हो ।
उक्त पुल कोशी प्रदेश सरकारको १७ करोड ७० लाख १० हजार २६५ रुपैयाँ लागतमा जयवागेश्वरी रेग्मी चुरिया जेभीले निर्माण गरेको हो ।
उक्त पुल हालै औपचारिक रुपमा संचालनमा समेत ल्याइएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उक्त पुलको उद्घाटन गरेका थिए ।
बुवाखोलामा पक्की पुल बनेसँगै खोटाङ, भोजपुरका नागरिकलाई तराई आवतजावत गर्न सहज भएको छ । साथै, उदयपुरको बेलटार हुँदै गाइघाट, धरान, इटहरी, विराटनगर लगायतका ठाँउमा पुग्ने दूरी पनि उल्लेखनीय रूपमा घटेको छ।

