काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न यात्रु बसलाई कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ ।
ट्राफिकले अबदेखि उपत्यकाबाट संचालन हुने सबै लामो दुरीका रात्रि तथा दिवा सेवा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरेको हो ।
लामो दुरीका सवारी साधनले पछिल्ला दिनमा लोकल बस जस्तै जथाभावी यात्रु चढाउने–ओराल्ने कार्य बढाएकाले कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले लामो दुरीका बसले लोकल बसको जस्तै जथाभावी यात्रु चढाउने ओराल्ने गर्दा विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको बताए । जाम न्यूनीकरण गर्न लामो दुरीका बस बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था गरिएको बताए ।
‘उपत्यकाका सडकमा अत्यधिक भीडभाड तीव्र गतिमा बढिरहेको छ । लामो दुरीका गाडीहरूले नियमविपरीत जथाभावी सडकमा रोकेर यात्रु चढाउने–झार्ने गर्नाले जाम झन् बढायो । त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो,’ उनले भने ।
उनले लामो दुरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले बताए । ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध समेत गरिसकेको उनले जानकारी दिए ।
ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

