काठमाडौं । सडक विभागले चाँडै विस्तार हुन लागेका दुई सडकको सीमा अतिक्रमण नगर्न सबैमा आग्रह गरेको छ ।
विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले एक सूचना जारी गर्दै मुग्लिन-आबुखैरेनी र हेटौंडा-नारायणगढ सडक विस्तार गर्न लागिएको उक्त सडकखण्डकाे सीमा अतिक्रमण गरी थप नयाँ संरचना नबनाउन अनुरोध गरेको हो ।
आयोजना निर्देशनालयका अनुसार पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डमा मुग्लिन बजारदेखि त्रिशुली जलविद्युत् आयोजनाभन्दा पश्चिम नदीपारि गोरखातर्फ २ लेनको नयाँ सडक र त्रिशुली जलविद्युत् आयोजनादेखि पश्चिम आबुखैरेनीसम्म हाल भएकै सडकलाई ४ लेनको सडक बनाउन लागिएको छ ।
त्यसैगरी, महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङ-टिकौली जंगलमा २ किलोमिटर फ्लाइओभरसहित राप्ती नदी पुलसम्म खुला सडक विस्तार गरिँदैछ । यहाँ खुला र जंगल क्षेत्रमा ४ लेन तथा बसोबास भएका स्थानमा थप १/१ सर्भिस लेन विस्तार गरिँदैछ ।
शहरी क्षेत्रमा २/२ सर्भिन लेन, ड्रेन, फूटपाथ तथा पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलसहित स्तरोन्नति गरिँदै छ ।
त्यसैले यी दुवै राजमार्गको सडक सीमा अतिक्रमण गरी घर टहरा र संरचना नबनाउन सडक विभागले सचेत गराएको छ ।
त्यस्तै, सडकको सहज निर्माणका लागि विद्युत् पोल, ढल, खानेपानी र सार्वजनिक संरचना स्थानान्तरणका लागि समेत निर्देशनालयले अनुरोध गरेको छ ।


