बीवाइडीले पूरा गर्यो डेढ करोड एनईभी उत्पादन

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीले डेढ करोड न्यू इनर्जी भेहिकल (एनईभी) उत्पादनको माइलस्टोन पूरा गरेको छ ।

कम्पनीले एनईभी उत्पादन थालेको १७ वर्षमा उक्त उपलब्धि हासिल गरेको हो । कम्पनीले १ करोड ५० लाखौं युनिटको रूपमा प्रिमियम एसयूभी डेन्जा एन ८ एल रोल आउट गरेको हो ।

सन् २००३ देखि औपचारिक रूपमा अटोमोटिभ उद्योगमा प्रवेश गरेको वीवाइडीले सन् २००८ डिसेम्बरमा आफ्नो पहिलो एनईभी मोडेल उत्पादन गेरेको थियो । एनईभी उत्पादन थालेको १३ वर्षमा अर्थात् सन् २०२१ मेमा १० लाख युनिट पूरा गरेको थियो ।

एनईभी बिक्रीमा तीव्र वृद्धिसँगै बीवाइडीले मार्च २०२२ देखि इन्टरनल कम्बस्चन इन्जिनवाला गाडी उत्पादन र बिक्री बन्द गर्द आफ्नो ध्यान पीएचईभी र बीईभी मोडेलहरूमा केन्द्रित गरेको थियो ।

१८ नोभेम्बर २०२४ मा आफ्नो १ करोडौं एनईभी (डेन्जा जेड ९) उत्पादन पूरा गरेको बीवाइडीले पछिल्लो १३ महिनामै थप ५० लाख एनईभी उत्पादन गरेको हो ।

सन् २०२५ को ११ महिना (जनवरी-नोभेम्बर)मा बीवाइडीले ४१ लाख ८२ हजार ३८ युनिट सवारी साधन बेचेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.३० प्रतिशतले धेरै हो ।


Back_to_top