चीनका ९ कम्पनीका ४३ मोडल अटोमोबाइल डाटा सुरक्षा मूल्यांकनमा पास

काठमाडौं । चीनका ९ अटोमोबाइल कम्पनीका ४३ मोडेलहरू सरकारी अटोमोबाइल डाटा सुरक्षा मूल्यांकनमा पास भएका छन् ।

९ कम्पनीमा ४३ मोडलका सवारी साधनले राष्ट्रिय स्तरमा तोकिएका पाँच वटै डाटा सुरक्षा मापदण्ड पूरा गर्न सफल भएका हुन् ।

सुरक्षा मापदण्डमा पास हुने कम्पनीहरूमा बीवाइडी, चेरी, चांगान, एसएअइसी ग्रुप, जीएसी आयोन, जीएसी ट्रम्ची, चांगान फोर्ड, एसजीएफडब्लू र बेइजिङ न्यू इनर्जी अटेमेबाइल कम्पनीकोे एनईभी डिभिजन रहेका छन् ।

डाटा सुरक्षा मापदण्ड पूरा गर्ने कम्पनीको नाम सार्वजनिक गरिए पनि मोडेलको नाम, उत्पादन वर्ष वा बिक्री सङ्ख्याबारे खुलाइएको छैन ।

सरकारले डाटा सुरक्षा मूल्यांकनका लागि विभिन्न ५ मापदण्ड तोकेको छ । जसमा सवारीको बाहिरी क्यामेराबाट संकलन हुने अनुहार सम्बन्धी डाटाको अनोनिमाइजेसन, सवारीभित्रको क्याबिन डाटाको प्रशोधन, पूर्वनिर्धारित रूपमा क्याबिन डाटा संकलन नगर्ने व्यवस्था, व्यक्तिगत जानकारी सम्बन्धी स्पष्ट सूचना र डाटा संलनको सटिकता दायरा निर्धारण जस्ता विषयहरू समेटिएका छन्।

यस मूल्यांकनले सवारी प्रविधिको व्यवस्थापन र सवारीबाट उत्पन्न हुने व्यक्तिगत तथा संस्थागत डाटाको सुरक्षा सुनिश्चित गर्न चीन सरकारले गरिरहेको नियामकीय प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

चीनको अटोमोबाइल डाटा सुरक्षा मूल्यांकन सन् २०२१ मा जारी गरिएको ‘अटोमोबाइल डाटा सुरक्षा व्यवस्थापन सम्बन्धी नियमावली’मा आधारित छ। यस नियमावलीले सवारीसाधनको लाइफ टाइममा उत्पन्न हुने व्यक्तिगत जानकारी तथा महत्वपूर्ण डाटाको संकलन, भण्डारण, प्रयोग र स्थानान्तरणलाई नियमन गर्दछ ।

यसअन्तर्गत उत्पादक र सम्बन्धित सेवा प्रदायकहरूले क्याबिन डाटा आन्तरिक रूपमा प्रशोधन गर्नुपर्ने, संवेदनशील डाटालाई अनोनिमाइजेसन गर्नुपर्ने र व्यक्तिगत जानकारी संकलनका लागि स्पष्ट सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्राविधिक मापदण्डहरू राष्ट्रिय स्तरको जीबी/टी ४१८७१-२०२२ मानकमा तोकिएका छन्, जसले मोटर सवारी डाटाको सङ्कलन, प्रसारण तथा आन्तरिक प्रशोधनसम्बन्धी विस्तृत सुरक्षा आवश्यकताहरू स्पष्ट गर्दछ।

यी पाँच वटा अनुपालन मापदण्डहरूले अटोमोबाइल डाटा कसरी संकलन, प्रशोधन र संरक्षण गर्नुपर्छ भन्ने कुरा निर्धारण गर्छन्। अनोनिमाइजेसन प्रक्रियाले बाहिरी क्यामेराबाट प्राप्त डाटाले उचित प्रशोधनबिना कुनै व्यक्तिको पहिचान खुल्न नदिने सुनिश्चित गर्छ।

त्यस्तै, सवारीभित्र प्रशोधनको व्यवस्थाले व्यक्तिगत जानकारी समावेश भएको क्याबिन डाटा सामान्य अवस्थामा बाहिर नपठाइ आन्तरिक रूपमा नै प्रशोधन गर्नुपर्ने व्यवस्था गर्छ।

त्यसैगरी, पूर्वनिर्धारित रूपमा डाटा संकलन नगर्ने नीति अन्तर्गत प्रयोगकर्ताको स्पष्ट सहमति आवश्यक हुन्छ । अर्थात् व्यक्तिगत जानकारीको हकमा स्पष्ट सूचना दिनुपर्छ ।


Back_to_top