नाडाको साधारण सभा रोक्न निवेदन, ‘सबै जिम्मेवारी अध्यक्ष र महासचिवले लिनुपर्छ’

काठमाडाैं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को असन्तुष्ट पक्षले साधारण सभा स्थगित गर्न माग गरेको छ ।

वरिष्ठ उपाध्यक्ष आकाश गोल्छासहित ८ जना कार्यसमिति सदस्यले आज नाडा अध्यक्ष करण चौधरीलाई पत्र लेख्दै भोलि (पुस ९ गते) हुने ४९ औं वार्षिक साधारण सभा रोक्न माग गरेका हुन् ।

नाडाले आफूलाई महासंघ बनाउने एजेन्डासहित भोलि ललितपुरको स्थित होटल द प्लाजामा साधारण सभा बोलाएको छ ।

साधरण सभा विरुद्ध पाटन उच्च अदालतमा मुद्दा परेको थियो । अदालतले पुस ६ गते कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दा विचाराधीन अवस्थामै रहेको बेला संस्थापन पक्षले साधरण सभाको प्रक्रिया अघि बढाएपछि रोक्न माग गरेका हुन् ।

उनीहरूले संस्थापन पक्षले जबरजस्ती साधारण सभा गरेमा त्यसको जिम्मेवार अध्यक्ष चौधरी र महासचिव सुरेन्द्र कुमार उप्रेती हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

‘अदालतको मुद्दाको विचाराधीन अवस्था हुँदा हुँदै यदि नाडाले जबरजस्ती साधारण सभा गरेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं अध्यक्ष र महासचिव ज्यूले लिनुपर्ने हुन्छ,’ असन्तुष्ट पक्षले भनेको छ ।

उनीहरूले संस्थाको हितभन्दा पनि अध्यक्षले आफ्नो होटल द प्लाजाको फाइदा मात्रै हेरी साधारण सभा बोलाएको गम्भीर आरोप समेत लगाएका छन् । साथै सम्पूर्ण खर्चसमेत उनीहरूले नै व्यहोर्नुपर्ने बताएका छन् ।

‘जबरजस्ती गर्न लागेको साधारण सभाको सम्पूर्ण खर्च समेत तपाईंहरूले व्यक्तिगत रूपमा वेहोर्नुपर्ने हुन्छ । नाडाका अध्यक्ष ज्यू आफैंले आफ्नो होटल द प्लाजाको फाइदा मात्र हेरी सो साधारण सभा गर्नु कत्तिको उचित हुन्छ ?,’ उनीहरूले प्रश्न गरेका छन् ।


Back_to_top