काठमाडौं । नेपाली बजारमा सबैभन्दा धेरै बिक्ने बजाज पल्सर १५० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक भएको छ ।
बजाज अटोले भारतीय बजारमा पल्सर १५० मोटरसाइकलको अपडेटेड २०२६ भेरियन्ट बिक्री सुरू गरेको हो । कम्पनीले यसको सुरूवाती मूल्य (एक्सशोरुम) १ लाख ८ हजार भारु तोकेको छ ।
कम्पनीले पल्सर १५० लाई सन् २०१० पछि सबैभन्दा ठूलो परिवर्तन गरेर बजारमा ल्याएको हो । नयाँ पल्सर १५० मा हेडल्याम्प र टर्न इन्डिकेटरहरू एलईडी सेटअपमा दिइएको छ । जसले पुरानोभन्दा निकै भिजिबलिटी बढाएको छ ।
साथै, मोटरसाइकलको नयाँँ ग्राफिक्ससँगै कलर अप्सन पनि थपिएको छ । यसका अलावा मोटरसाइकलको डिजाइनमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा पहिले जस्तै इन्धन ट्याङ्की, क्लिप अन ह्याण्डलबार, स्प्लिट सिट, अलोय ह्वील र एग्जस्ट रहेको छ ।
पल्सर १५० मा १४९ सीसी सिगंल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले १४ पीएस पावर र १३.४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा छ स्पीड गियरबक्स छ भने यसको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

बजाज पल्सर १५० नेपालमा पनि सर्वाधिक बिक्री हुने मोटरसाइकल मध्यको एक हो । सन् २०२५ मा नेपालमा आयात भएका मोटरसाइकल मध्ये पल्सर १५० शीर्ष स्थानमा छ । यो वर्ष १८ हजार ९४८ युनिट आयात भएको छ ।
भारतमा सार्वजनिक भएसँगै नयाँ भेरियन्ट पल्सर १५० मोटरसाइकल नेपाली बजारमा पनि चाँडै आउने भएको छ । नेपालमा हसंराज हुलासचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

