काठमाडौं । सरकारले सवारीसाधनको प्रदूषण मापदण्ड स्तरोन्तीको तयारी गरिरहेको छ । आगामी साउनदेखि लागु गर्ने गरि तयारी भइरहेको प्रदूषण मापदण्ड स्तरोन्तीमा रेल तथा पानीजहाज (स्टिमर) को पनि प्रदूषण मापदण्ड तोकिने भएको छ ।
विगतमा नेपालमा रेल चलेको भएपनि अहिले भने रेल सञ्चालनमा छैन । तर सरकारले दुईवटा रेल किन्ने निर्णय गरेको थियो । त्यस्तै कोशीलगायत नदीमा सञ्चालन गर्न स्टिमर ल्याउने तयारीसमेत गरेको छ ।
रेलले गर्ने प्रदूषणलाई दृष्टीगत गर्दै नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ लाई स्तोरोन्ती गर्न बनेको कमिटिले रेलको समेत मापदण्ड तय गर्न सरकारलाई सिफरिस गरेको छ ।
सरकारले केही महिना अघि दुईवटा रेल किन्ने निर्णय गरिरहेको र आगामी दिनमा पनि रेलको संख्या बढ्दै जाने हुनाले अहिले मापदण्ड तोक्न आग्रह गरिएको उक्त प्राविधिक कमिटिका एक सदस्यले जानकारी दिए ।
‘हामीले रेलको मात्र होइन स्टिमरको (पानी जहाज) समेत मापदण्ड तोक्न भनेका छौं,’ ती सदस्यले भने, ‘स्टिमर पनि इन्धनबाट चल्ने हुँदा त्यसले पनि प्रदूषण गर्ने भएकाले अहिले नै मापदण्ड तोकियो भने भोलीका दिनमा अप्ठेरो पर्दैन ।’
स्टिमरको संख्या पनि बढ्दै जाने देखिन्छ । हाल कोशी तथा कालीगण्डकी ड्याममा स्टिमर सञ्चालन हुँदै आएको छ ।

