काठमाडौं । नेपाल कम मूल्यका कारको लागि उपयुक्त बजार मानिन्थ्यो । तर, पछिल्ला ५ वर्षको बिक्री तथ्यांक हेर्दा साना र कम मूल्यका कारको बिक्री क्रमिक रूपमा घट्दै गएको देखिन्छ ।
सन् २०२१ मा साना ह्याचब्याक कारको बजार १ हजार ५७४ युनिट थियो । त्यसपछि निरन्तर ओरालो लागेको कम मूल्यका कारको बजार सन् २०२२ मा झरेर ७९४ युनिटमा आएको थियो ।
मिनि कारको रूपमा लिइने यी कारको आयात त्यसपछि पनि निरन्तर घट्दै गएको देखिन्छ । सन् २०२३ मा त साना कारको बजार केबल ३११ युनिटमा सीमित भएको थियो । त्यसपछि हल्का सुधार देखिएको सेग्मेन्टमा सन् २०२४ मा ४३५ युनिट र सन् २०२५ को डिसेम्बर १५ तारिखसम्ममा ६०४ युनिट आयात भएको देखिन्छ ।
सन् २०२४ र २०२५ मा विद्युतीय मिनि कारको कारण बजारमा सुधार आएको देखिएको हो । विभिन्न कम्पनीले मिलाएर सन् २०२४ मा ३०६ युनिट ईभी ल्याएका थिए भने २०२५ मा ३५५ युनिट विद्युतीय साना कार नेपाल ल्याएका छन् ।
सन् २०२५ मा पेट्रोलबाट चल्ने साना कारको आयातमा हल्का सुधार देखिएको छ । विभिन्न कम्पनीले इन्ट्री ह्याचब्याकको रूपमा २४९ युनिट पेट्रोलबाट चल्ने कार २०२५ मा आयात गरेका हुन् ।
राम्रा ब्राण्डका कार नै मसिक १८ हजार किस्तामा
अहिले विद्युतीय कार बिक्री गर्ने कम्पनीहरूले राम्रा मिनि कारहरू बिक्री गर्दै आएका छन् । त्यसमा केई इक्यूट, एमजी कोमेट ईभी र बीएडब्लू ब्रम्बी जस्ता मोडल छन् । यी कारको मूल्य २० लाख रुपैयाँ हाराहारी छ ।
बैंक तथा वित्तीय संस्थाले अहिले ७ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको कारण साना मिनि कार मासिक १८ हजार हाराहारी किस्ता तिर्नेगरी नै खरिद गर्न सकिन्छ । ब्याजदर कम हुँदा गाडी किन्नेको मासिक किस्ता पनि कम भएको हो ।
मिनि कार किन्ने मूल्यको ६० प्रतिशत कर्जा पाउँछन् भने ४० प्रतिशत डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ । अर्को, मासिक किस्ता नै १८ हजार रुपैयाँ हाराहारी पर्ने भएको कारण गाडी किन्ने मानिसको मासिक आम्दानी ५० हजार रुपैयाँ भए पनि पुग्नेछ ।
थप खर्च पनि कम
यदि, तपाईंले किन्ने मिनिकार इलेक्ट्रीक हो भने खर्च नै हुँदैन भन्दा हुन्छ । तपाईंले मासिक किस्ता तिर्ने रकम पेट्रोल कारमा गरिने पेट्रोल बापतको खर्चले नै पुग्न खोज्छ ।
त्यस बाहेक पनि सर्भिसिङ लगायतमा गरिने खर्च समेत बचत हुने भएको कारण सानो पारिवारीक कार खोज्दै हुनुहुन्छ भने तपाईंको लागि मिनि ईभी उत्कृष्ट छनोट हुन सक्छ ।

