एक साथ ६७ ईभीको अत्याधिक चिसो स्थानमा ‘रेन्ज टेस्ट’

काठमाडौं । एकै पटक ६७ विद्युतीय कारको चिसो मौसममा रेन्ज टेस्ट गरिएको छ । ईभीको पावर हाउस मानिने चीनमा अत्याधिक चिसो मौसममा विद्युतीय कारको रेन्ज टेस्ट गरिएको हो ।

यो परीक्षण चिनियाँ गाडी उत्पादकले भने गरेका होइनन् । विश्वकै ठूलो मध्येको एक अटोमोटिभ मिडिया ‘अटोहोम’ले आयोजना गरेको थियो । ६७ कारको रेन्ज परीक्षणमा १०० कार विशेषज्ञहरूको सहभागिता थियो । उनीहरूले मंगोलियाको अत्याधिक चिसो स्थानमा गाडीको रेन्ज, चार्जिङ पर्फमेन्स, हिउँ पर्ने स्थानमा ड्राइभिङ क्षमता, स्पीड र सुरक्षा जस्ता विषयको परीक्षण गरेका थिए ।

उक्त परीक्षणमा चीनमा उत्पादन हुने अधिकांश चल्तीका ब्राण्डका उत्पादन समावेस गरिएको थियो । १४ डिग्री फरेनहाइट देखि माइन २२ डिग्रीसम्मको चिसोमा परीक्षण गरिएको हो ।

विद्युतीय साधन चिसो बढ्दा राम्रो पर्फमेन्स गर्न सक्दैनन् भन्ने भाष्य नै बनेको छ । त्यसैले चिसोबाट ब्याट्री बचाउन कम्पनीहरूले ठूलै मेहनत गरेका हुन्छन् । गाडीमा रहेको ब्याट्री तताउन नै धेरै ऊर्जा खर्च हुने भएकोले कम्पनीहरू दाबी अनुसारको रेन्ज चिसो स्थानमा कारले दिँदैन ।

यस परीक्षणमा कारको स्पीड ७० देखि ८० किलोमिटर प्रतिघण्टाको थियो । जुन सडकमा चलाउने औषत स्पीड सरह नै छ । यस परीक्षणमा सहभागी गराइएका कारमा सबैभन्दा अब्बल रेन्ज सेडान कारहरूको देखियो ।

सेडानको रेन्ज राम्रो

सबैभन्दा अगाडि एक्सपेङ पी सेनेभ देखियो । पी सेभेन मोडलले सीएलटीसी रेन्जमा दाबी गरिएको ६८० किलोमिटर रेन्ज अत्याधिक चिसोमा चलाउँदा ३६६.७ किलोमिटर रेन्ज पाइएको थियो । जुन दाबी गरिएको रेन्जको ५३.९ प्रतिशत हो ।

सूचीको दोस्रो स्थानमा याङवाङ यू सेभन परेको छ । बीवाइडीको यु सेभेन सेडानले सीएलटीसीले दाबी गरेको ७२० किलोमिटरमा ३७२.९ किलोमिटर रेन्ज पाउन सफल भयो । जुन दाबीको ५१.८ प्रतिशत हो ।

अत्याधिक चिसो स्थानमा पनि राम्रो पर्फमेन्स गर्ने तेस्रो मोडल जिकर ००१ भएको छ । सीएलटीसीले ७३० किलोमिटर रेन्ज प्रमाणित गरेको जिकर ००१ ले ३६२.१ किलोमिटर रेन्ज दिएको थियो । जुन सीएलटीसीको दाबीको ४९.६ प्रतिशत हो ।

अमेरिकी लग्जरी कार निर्माता टेस्लाको मोडल थ्रीको रेन्ज ७५३ किलोमिटर सीएलटीसी टेस्टमा भएपनि चिसो स्थानको परीक्षणमा केबल ३६१.८ किलोमिटर गुड्न सफल भयो । जुन दाबीको ४८ प्रतिशत मात्रै हो ।

मर्सिडिज बेन्ज सीएलए एनईभीको सीएलटीसी रेन्ज ८६६ किलोमिटर रहेकोमा उक्त परीक्षणमा ३२० किलोमिटर मात्रै पाउन सकिएको हो । जुन दाबीको ३७ प्रतिशत मात्रै हो ।

परीक्षणले देखाएको तथ्य

माथि चर्चा भएका सबै मोडल सेडान हुन् । उक्त परीक्षणबाट ईभीले रेन्ज प्रदान गर्न सक्दैन भन्ने पुष्टी भएको होइन । खराबभन्दा खराब मौसम, चिसो, उच्चगतिमा चलेको हावा, कच्ची सडक र गाडीको क्याबिन तातो गर्न पूर्णरूपमा हिटर चलाउँदा पनि कारको रेन्ज यस्तो आयो भन्ने देखाइएको हो ।

त्यसैले यी कारहरू सामान्य चिसो स्थानमा चलाउँदा निकै धेरै रेन्ज दिन सक्षम छन् । यी बाहेक अन्य एसयूभी र क्रसओभर मोडलले पनि दाबीको ४० प्रतिशतभन्दा बढी रेन्ज दिएका थिए । जसमा साओमी एसयू सेभेन, आइतो एम सेभेन, नियो इएस ८ ले सीएलटीसीले प्रमाणित गरेको रेन्जको ४० प्रतिशतभन्दा बढी रेन्ज दिएका थिए ।

अर्को रोचक कुरा के छ भने बीवाइडी एटो वान (सिगल) ह्याचब्याक र जिली झिङयुआन (इएक्स टु) पनि उक्त परीक्षणमा सहभागी थिए । यी दुई कारलाई १०० किलोमिटर गुडाउन २३.५ किलोवाट आवर ब्याट्री खर्च भएको थियो ।

आयोजकका अनुसार यो निकै क्रुर अवस्थामा गाडीहरूले प्रदान गरेको रेन्ज हो । यसले उपभोक्तामा ईभी प्रति थप आत्मविश्वास जगाएको उनीहरूको दाबी छ ।


Back_to_top