काठमाडौं । नेपाल महँगो मूल्यमा पेट्रोल किन्नु पर्ने देश हो । त्यसैले कुनै पनि दुईपाङ्ग्रे साधन किन्नुअघि उपभोक्ताले माइलेजको कुरा गरिहाल्छन् ।
दुईपाङ्ग्रे साधनमा पनि दैनिक प्रयोग गर्दा सबैभन्दा धेरै खर्च आउने भनेकै पेट्रोलमा हो । त्यसैले मोटरसाइकल किन्दा होस् वा स्कुटर धेरैको चासो माइलेजमै हुने गरेको पाइन्छ ।
नेपालमा बिक्री हुने अधिकांश ब्राण्डका उत्पादन भारतबाट आउँछन् । केही अन्यत्रबाट आउने ब्राण्ड भए पनि उनीहरूको बजार हिस्सा नगन्य मात्रै छ । भारतमा उत्पादन भएका दुईपाङ्ग्रे साधनको माइलेज परीक्षण पनि एआएआईले नै गर्ने गर्छ । उक्त परीक्षण सडकमा नभएर ल्याबमा हुन्छ ।
ल्याबमा परीक्षणबाट आएको माइलेजलाई उत्पादकहरूले धेरै प्रचार प्रसार गर्छन् । त्यसैले यस्ता साधनले ल्याबमा दिएको माइलेज सडकमा दिन सक्दैनन् ।
त्यसैले किन कम्पनीले दाबी गरेको माइलेज सडकमा गुडाउँदा पाउन सकिँदैन भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
प्रदूषण रहित बनाउने कारण
भारत सरकारले सबै किसिमका सवारीसाधनबाट हुने प्रदूषण कम गर्न धेरै मेहनत गरिरहेको छ । त्यसैले उत्पादकहरूलाई पनि कम हानिकारक ग्यासहरू उत्सर्जन गर्न बाध्यकारी बनाइएको छ ।
कम्पनीहरूले प्रदूषण मापदण्ड भेट्टाउन इन्जिनहरू ट्युनिङ गर्छन् । साथै, कम्पनीहरूले माइलेज परीक्षण गर्दा एकैनासको स्पीडमा टेष्ट गर्छन् । त्यहाँ थ्रोटल इनपुट स्मुथ हुन्छ । यसले माइलेज धेरै निकाल्न मद्दत गरेको हुन्छ ।
ट्राफिक व्यस्त सडकमा मोटरसाइकल चलाउँदा ब्रेकिङ र एसेलेरेसनको प्रयोग एकनास हुँदैन । त्यसैले माइलेज भनेभन्दा कम नै आउँछ ।
राइडिङ स्टाइल
एआइका अलावा कम्पनीहरूले आफैँ पनि माइलेज टेष्ट गर्छन् । उनीहरूले गर्ने टेस्ट फ्ल्याट रोडमा पछाडि यात्रु नराखी गरिएको हुन्छ ।

हाम्रो बजारमा आइसकेपछि पछाडि मान्छे राखेर वा सामान बोकेर हिँडिरहेको पाइन्छ । यसले माइलेजमा निकै ठूलो अन्तर फरक पार्छ । साथै, ओभरटेक गर्दा होस् वा उकालोमा चलाउँदा, हार्ड एसेलेरेसन गर्नुपर्दा माइलेजमा निकै तलमाथि हुन जान्छ ।
ट्राफिक कन्डिसन
हाम्रो जस्तो जाम हुने सहरमा बीएस ६ इन्जिन भएको मोटरसाइकलले झनै धेरै पेट्रोल खर्च गर्छ । जाममा बस्दा होस् वा ट्राफिक लाइटमा वेट गर्दा मोटरसाइकल आइडियल कन्डिसनमा हुँदा पनि माइलेज घट्ने गर्छ ।
सडकको अवस्था र अल्टिट्युड
हाम्रा सडकहरूमा हुने धुलो र खराब हावाका कारण पनि माइलेज घट्ने हुन्छ । खाल्डाखुल्डी भएका सडकमा पनि माइलेज कम हुने नै भयो । र, हाम्रो जस्तो भौगोलिक अवस्था भएको स्थानमा एयर डेन्सिटी कम हुने स्थानमा चलाउँदा कम्बस्चनमा समस्या भएर माइलेज ड्रप हुने हुन्छ ।

इन्धनको गुणस्तर र सर्भिस
अहिले देशको धेरै स्थानमा प्लाष्टिकका बोटलमा राखेर बिक्री भएको पेट्रोल प्रयोग गर्नु पर्ने अवस्था छ । सहरी क्षेत्रमा उपलब्ध पेट्रोल पनि शुद्ध छ भन्ने एकिन छैन । मिसावट भएको, कम गुणस्तरको पेट्रोलका कारण पनि माइलेज घट्छ ।
समयमै सर्भिस नगर्दा होस् वा बीएस ६ इन्जिनको लागि सक्षम नभएका टेक्निसियनले सर्भिस गरेका मोटरसाइकल तथा स्कुटरको पनि माइलेज कम आउन सक्नेछ ।
सामान्यतया हाम्रो जस्तो सडक, फ्युल क्वालिटी र राइडिङ स्टाइल भएको ठाउँमा १० देखि २५ प्रतिशतसम्म कम्पनीले तोकेभन्दा कम माइलेज आउने गर्छ ।
कम्पनीहरूले दाबी गरेको माइलेजलाई पनि गलत भन्न सकिँदैन । कम्पनीहरूले परीक्षण गर्दाको अवस्था र रियल वर्ल्डमा चलाउँदा धेरै कुरा फरक पर्ने कारण तोकिएको माइलेज नपाइने भएको हो ।

