काठमाडौं । हिमपात भएसँगै हिमाली जिल्लामा यातायात प्रभावित भएको छ । बुधबार बिहानैदेखि बाक्लो हिमपात हुँदा धेरै हिमाली जिल्लाहरूको सडकमा हिउँ जम्दा सवारी आवगमन अवरुद्ध भएको हो ।
आज मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, रुकुमपूर्व, मुगु लगायत अधिकांश हिमाली जिल्लामा हिउँ परेको छ ।
हिमपातका कारण मध्यपहाडी राजमार्ग, कालिगण्डकी करिडोर, कर्णाली राजमार्ग, नाग्म-गमगढी लगायत मुख्य सडकका विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।केही सडकमा १ फिटभन्दा बाक्लो हिउँ जमेको छ ।
धेरै ठाउँमा अहिले पनि निरन्तर हिमपात भइरहेकाले तत्काल सडक संचालन हुने सम्भावना न्यून रहेको सम्बिन्धत जिल्लाका प्रहरी कार्यालयहरुले जनाएका छन् ।
केही ठाउँमा सवारी साधन बीचबाटोमै रोकिँदा दर्जनौं सवारी र सयौं यात्रु अलपत्र परेका छन् ।
केही जिल्लामा हवाई सेवा समेत बन्द भएको छ ।


