काठमाडौं । छिमेकी मुलुक भारतले जहाज अवतरण गर्न मिल्ने विशेष खालको राजमार्ग बनाएको छ ।
भारतले आसाम राज्यको डिब्रुगढस्थित मोरानमा करिब साढे ४ किलोमिटर लामो इमरजेन्सी ल्यान्डिङ फेसिलिटीयुक्त (ईएलएफ) सडक बनाएको हो । यो खण्ड भारतको राष्ट्रिय राजमार्ग-३७ मा पर्दछ ।
करिब १ अर्ब भारतीय रुपैयाँ लागतमा उक्त हवाई जहाज अवतरण गर्न मिल्ने सुविधायुक्त राजमार्ग (रन वे) बनाइएको हो ।
यो राजमार्ग आपतकालीन अवस्थामा डिब्रुगढ विमानस्थलको विकल्पको रूपमा बनाइएको हो । यस राजमार्गमा ४० टनसम्मको लडाकु विमान र ७४ टनसम्मको अधिकतम टेकअफ तौलसम्मको विमान अवतरण गर्न सक्छन् । यो भारतीय वायुसेनाका लडाकु र यातायात विमानका लागि रणनीतिक तथा बहुउद्देश्यीय सडकका रूपमा प्रयोगमा आउने छ ।
उक्त मोरानमा बाइपासमा शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको जहाज अवतरण समेत गरिएको छ । चाबुवा हवाई अड्डाबाट उडेको मोदी चढेको भारतीय वायुसेनाको सी-१३०जे सुपर हरक्यूलिस विमान सडकमा सफल अवतरण गरिएको हो । यसलाई भारतीय मिडियाहरूले ‘ऐतिहासिक क्षण’ समेत भनेका छन् ।
भारतले पहिलो पटक सन् २०२१ सेप्टेम्बरमा राजस्थानको बाड़मेर-जालोर राजमार्ग (एनएच-९२५ए) मा इमरजेन्सी ल्यान्डिङ फेसिलिटी स्ट्रिप बनाएको थियो । उक्त सडकमा भारतीय वायुसेनाको सी-१३० जे सुपर हरक्यूलिस विमान अवतरण गरेर उट्घाटन गरिएको थियो ।
त्यस्तै, भारतले राजस्थान, उत्तर प्रदेश, तमिलनाडु लगायत स्थानमा पनि यस्ता विशेष खालका सडक निर्माण गरिसकेको छ ।
भारतले देशभर २८ वटा इमरजेन्सी ल्यान्डिङ फेसिलिटी युक्त राजमार्ग बनाउने योजना बनाएको छ । जसमा आसाममा मात्रै कम्तीमा ५ वटा यस्ता सडक बनाउने योजना रहेको बताइएको छ ।
इमरजेन्सी ल्यान्डिङ फेसिलिटी मुख्य गरी आपतकालीन अवस्थामा जहाज अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले बनाइन्छ । सामान्य समयमा उक्त राजमार्गमा सवारी साधन चलाइन्छ । तर, आवश्यक परेमा उक्त राजमार्गलाई वैकल्पिक विमानस्थलको रुपमा प्रयोगमा ल्याइन्छ ।

