पछिल्लो ५ वर्ष हुन्डाई र टाटा बीच कडा टक्कर, कुनले कति बेच्यो ?

काठमाडौं । नेपाली बजारमा विगत ५ वर्षको तथ्यांक केलाएर हेर्दा टाटा मोटर्स र हुन्डाई मोटर्सका उत्पादन बीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी दुवै कम्पनीले भारतमा उत्पादन गरेका कार नेपालमा बिक्री भएका छन् ।

सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बर अन्तिमसम्म हुन्डाई र टाटाले नेपालमा २० हजार बढी कार बिक्री गरेका छन् । यी दुई कम्पनीको बिक्रीलाई हेर्दा औषतमा दुई कम्पनीले ४ हजार युनिटभन्दा माथि कार बेचेका छन् ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पछिल्लो ५ वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा ईभी धेरै बेचेको छ । जबकि हुन्डाईले ईभीको तुलनामा पेट्रोलियम पदार्थबाट चल्ने कार धेरै बिक्री गरेको देखिन्छ ।

सिप्रदी ट्रेडिङले विगत ५ वर्षमा ८ हजार ५९२ युनिट विद्युतीय कार बिक्री गर्दा केबल १ हजार ७८२ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री गरेको हो । टाटाको बिक्रीमा सबैभन्दा ठूलो भूमिका नेक्सन एसयूभी, टियागो ह्याचब्याक र टिगोर सेडानको देखिन्छ । टिगोर सेडान ट्याक्सीको रूपमा बिक्री हुँदै आएको सफल मोडल हो ।

हुन्डाईको पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री निकै धेरै छ । आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्निटनेन्टल प्रालिले ९ हजार ४३५ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री गरेको छ । कम्पनीले ९४३ युनिट मात्रै ईभी बिक्री गरेको देखिन्छ । हुन्डाईको बिक्रीमा क्रेटा एसयूभी, ग्राण्ड आइ १० ह्याचब्याक र भेन्यू एसयूभीको हिस्सा सबैभन्दा धेरै छ ।

कसको बिक्री कति ?

यी दुई ब्राण्ड बीच विगत ५ वर्षको बिक्रीमा केबल ४ युनिटको अन्तर देखिन्छ । टाटाले ५ वर्षमा १० हजार ३७४ युनिट कार बिक्री गर्दा हुन्डाईले १० हजार ३७८ युनिट कार बिक्री गरेको छ ।

भारतमा उत्पादन भएका दुवै ब्राण्डका कारको नेपाली बजारमा दबदबा रहेको देखिन्छ । पछिल्ला दिनमा चिनियाँ कारमा बढ्दो आकर्षणका बीच पनि यी दुई ब्राण्डले राम्रै संख्यामा कार बिक्री गर्दै आएका छन् ।

बलियो बिक्री नेटवर्क, सुविधा सम्पन्न सर्भिस सेन्टर र भरपर्दो बिक्रीपछिको सेवाका कारण यी दुवै ब्राण्डका उत्पादनमा एक किसिमको उपभोक्ताको विश्वास देखिन्छ ।


Back_to_top