परीक्षणमा देखियो हुन्डाईको नयाँ ईभी

काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले भारतीय बजारमा ल्याउन लागेको नयाँ विद्युतीय कार परीक्षणको क्रममा देखिएको छ । हुन्डाईको नयाँ ईभी भारतको गोवाको एउटा चार्जिङ स्टेसनमा देखिएको हो ।

सार्वजनिक भएको स्पाइ तस्बिर अनुसार नयाँ ईभी पूरै क्यामोफ्लाजले ढाकिएको छ । जसको लम्बाइ ४ मिटरभन्दा कम रहेको अनुमान गरिएको छ ।

चार्जिङ स्टेसनमा यो गाडीको छेउमै चाँडै आउन लागेको कारेन्स क्लाभिस ईभी जीटी लाइन पनि देखिन्छ । यो ईभी पूरै ढाकिएको भए पनि केही डिजाइन संकेतहरू भने देख्न सकिन्छ। यस एसयूभीको उचाइ राम्रो छ । यसको आकृति केही बाकस जस्तो देखिन्छ ।

पछाडिको भाग पनि काफी सीधा देखिन्छ । जसले भित्री स्थान र बुट स्पेस अधिकतम फराकिनो बनाउन मद्दत गर्नेछ । भारतका लागि विशेष रूपमा बनाइँदै गरेको यो हुन्डाईको विद्युत् एसयूभीमा रूफ रेल्स पनि छन् । यसको छानाको अधिकांश भाग समथर देखिन्छ । जसले यो एसयूभीलाई फ्यामिली फोकस्ड र प्राक्टिकली एसयूभी डिजाइनको संकेत दिन्छ।

भारतमा यसअघि परीक्षणका क्रममा देखिएका मोडेलहरूमा स्टिलका ह्वील प्रयोग गरिएको थियो । अहिले देखिएको गाडीमा नयाँ एलोय ह्वीलहरू देखिएका छन्। यी एलोय पाँग्राहरूमा जियोमेट्रिक मल्टी स्पोक ढाँचा छ । यसको आकार करिब १६ वा १७ इन्च हुन सक्छ।

यस्ता डिजाइनहरू प्रायः विद्युत् सवारीहरूमा प्रयोग गरिन्छ, जसले आधुनिक डिजाइन कायम राख्दै उच्च कार्यक्षमता सुधार गर्न मद्दत गर्छ।

हुन्डाईले परीक्षण गरिरहेको ईभीमा प्रयोग गरेका पाँग्राले यो ईभी उत्पादनका लागि लगभग तयार रहेको संकेत दिन्छ ।


Back_to_top