धमाधम स्कीम दिँदै कार बिक्रेता, डिस्काउन्ट दिने सजिलो बाटो एक्स्चेन्ज क्याम्प

तस्बिर : एआइ जेनेरेटेड ।

काठमाडौं । कार बिक्रेताहरूले धमाधम स्कीम ल्याइरहेका छन् । निर्वाचनपछि आफ्नो व्यवसायीक गतिविधि बढाउन कार बिक्रेता कम्पनीहरूले स्कीम ल्याएका हुन् ।

अहिले बजारमा कार बिक्री गर्ने करिब २ दर्जन कार ब्राण्ड मध्ये अधिकांशले स्कीम दिइरहेका छन् । कति कम्पनीले दशैं-तिहारको समयमा दिएको नगद छुट अहिले पनि निरन्तर राखेका छन् ।

अहिले दीपल, टाटा, केई, फरथिङ, जिकर, एक्सपेङ, आयोन लगायतका ब्राण्डले स्कीम दिइरहेका छन् । यसका अलावा अन्य धेरै ब्राण्डले पनि एक्सचेन्ज स्कीम सधैं नै चलाइरहेका हुन्छन् ।

पुराना गाडी ल्याएर नयाँ गाडी किन्ने उपभोक्तालाई धेरैले केन्द्रमा राखेर एक्सचेन्ज क्याम्प लगाएका हुन् । उपभोक्ताले पनि नियमित समयमाभन्दा यस्ता स्कीम दिएको समयमा गाडी किन्दा केही सस्तो पर्ने भएको कारण एक्सचेन्ज क्याम्पमा सहभागिता जनाउने गरेको पाइन्छ ।

हुन्डाईले फुटबल विश्वकपलाई मध्यनजर गर्दै टेस्ट ड्राइभ क्याम्पेन चलाइरहेको छ । कम्पनीले शोरुम घुम्नेदेखि टेस्ट ड्राइभ र गाडी किन्नेलाई उक्त क्याम्पेनमा सहभागि गराएको छ । कम्पनीका अनुसार भाग्यशाली एक जोडीले अमेरिकी कन्टिनेन्टमा हुने विश्वकप २०२६ को खेल हेर्न जान पाउने छन् ।

ब्राण्डको गतिविधि बढाउन टाटाले पनि हरेक महिना नयाँ नयाँ नामबाट ग्राहक तान्ने स्कीम ल्याइरहेको हुन्छ । अहिले कम्पनीले मोटरसाइकल र स्कुटर छाडेर गाडी चढ्ने योजना बनाएका उपभोक्तालाई टियागो ईभीमा अपग्रेड गर्ने स्कीम निकै चर्चामा छ ।

दीपल, अभतार, सेरेस र नामी ब्राण्डले पनि एक्सचेन्ज क्याम्प आयोजना गर्दैछ । एउटै स्थानमा मल्टी ब्राण्डका गाडी उपलब्ध गराउने उद्देश्यले चैत १२ गतेबाट १४ गतेसम्म मेगा एक्सचेन्ज कार्निभल नाम दिएर उक्त कार्यक्रम गर्न लागेको हो ।

फरथिङको आधिकारिक बिक्रेता लक्ष्मी इमोविलिटीले फरथिङ फ्राइडे एसयूभीमा पनि एक्सचेन्ज स्कीम दिएको छ । ७ लाख रुपैयाँसम्मको छुट सुविधा उपलब्ध हुने उक्त एक्सचेन्ज मेला चैत ६ गतेबाट ८ गतेसम्म चल्ने छ ।

ठूला ब्राण्डहरूले नयाँ कार बिक्रीको लागि एक्सचेन्ज क्याम्पहरूलाई अचुक अस्त्र बनाएका छन् । यसले उपभोक्ता पनि यस्ता स्कीमको पर्खाइमा रहने गरेको पाइन्छ । आफ्नो गाडीमा सिधै डिस्काउन्ट दिन हिचकिचाउने ब्राण्डले पनि एक्सचेन्जलाई छुट दिने माध्यम बनाउने गरेका छन् । जसको सिधा फाइदा उपभोक्ताले पाइरहेको देखिन्छ ।


Back_to_top