घट्यो बीवाइडीको नाफा, सन् २०२५ मा कमायो ७ खर्ब

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले सन् २०२५ मा ७ खर्ब नेपाली रुपैयाँ बढी नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार सन् २०२५ मा ३२.६२ अर्ब युआन (४.७२ अर्ब अमेरिकी डलर) खुद नाफा कमाएको हो ।

यद्यपि, कम्पनीको खुदमा नाफामा उच्च गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा २०२५ मा बीवाडीको खुद नाफा १९ प्रतिशतले घटेको हो ।

चीनको एनईभी उद्योगमा जारी प्राइसवारका कारण बीवाइडीले नाफामा उल्लेख्य गिरावट आएको बताइएको छ । कम्पनीले यो वर्ष पनि अझै धरै चुनौती सामाना गर्नुपर्ने बताएको छ ।

‘चीनको एनईभी उद्योगले विश्वभर अग्रणी स्थान बनाएको छ, तर २०२६ मा अझै धेरै चुनौतीहरूको सामना गरिरहेको छ। बजार स्तरमा निरन्तरको मूल्य युद्ध र अत्यधिक प्रतिस्पर्धात्मक वातावरणले सवारी साधन निर्माताहरूको नाफाको मार्जिनमा दबाब दिइरहेको छ,’ बीवाइडीले भनेको छ ।

कम्पनीको कुल आम्दानीमा भने सामान्य वृद्धि देखिएको छ । सन् २०२५ मा कुल आम्दानी ३.४६ प्रतितश बढेर ८०३.९७ अर्ब युआन पुगेको छ । यद्यपि, यो तथ्यांक पनि बजारले अपेक्षा गरेको ८३६.२६ अर्ब युआन भन्दा कम नै हो।

सन् २०२५ मा बीवाइडीले जम्मा ४६ लाख २ हजार ४३६ युनिट एनईभी बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.७३ प्रतिशतको वृद्धि हो ।

गाडी बिक्री र यससँग सम्बन्धित उत्पादनहरूको व्यापार नै कम्पनीको मुख्य आम्दानीको स्रोत हो । जसले कुल आम्दानीको ८०.६८ प्रतिशत हिस्सा ओगटेको छ । यो वर्ष कम्पनीले सवारी बिक्रीबाट ६४८.६५ अर्ब युआन आम्दानी गरेको थियो ।

कम्पनीको मोबाइल फोनका पार्टपुर्जा र एसेम्बली व्यवसायबाट हुने आम्दानी भने २.७४ प्रतिशतले घटेर १५५.२४ अर्ब युआनमा झरेको छ।
कम्पनीको नाफा घट्नुको मुख्य कारण ‘मार्जिन’मा आएको संकुचन हो । वार्षिक प्रतिवेदन अनुसार कम्पनीको समग्र कुल नाफा मार्जिन १९.४४ प्रतिशत बाट घटेर १७.७४ प्रतिशतमा सीमित भएको छ ।

चीनको घरेलु अटो उद्योग अहिले एक निर्णायक चरणबाट गुज्रिरहेको छ । जसका कारण धेरै कम्पनीहरूले आफ्नो बजार हिस्सा जोगाउन वा विस्तार गर्न नाफामा सम्झौता गर्नुपरेको छ ।

घरेलु बजारमा चुनौती भए तापनि बीवाइडीले विदेशी बजारमा ठूलो सफलता हात पारेको छ। यसको वार्षिक निर्यात पहिलो पटक १० लाख युनिटको आँकडा नाघेको छ।

कम्पनीले सन् २०२५ मा १० लाख ५० हजार युनिट गाडी निर्यात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १.४ गुणा बढी हो ।

बीवाइडीले २०२६ मा विदेशी बजारमा करिब २४ प्रतिशतको वृद्धिसहित १३ लाख सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ ।
बीवाइडीले प्राविधिक नवप्रवर्तनमा भारी लगानी जारी राखेको छ। सन् २०२५ मा अनुसन्धान र विकासमा ६३.४ अर्ब युआन खर्च भएको छ ।

तीव्र प्रतिस्पर्धाको सामना गर्न बीवाइडीले यसै महिना आफ्नो दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ र ‘फ्ल्यास चार्जिङ’ प्रविधि सार्वजनिक गरेको छ । जसले सवारी साधनलाई मात्र ५ मिनेटमा १० प्रतिशत बाट ७० प्रतिशत सम्म चार्ज गर्छ । वाइडीले २०२६ को अन्त्यसम्ममा देशभर २० हजार फ्ल्यास चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ। यी पहलहरूले यसका एनईभी मोडलहरूको बजार प्रतिस्पर्धालाई थप मजबुत बनाउने र पेट्रोलबाट चल्ने गाडीहरूको विस्थापनलाई तीव्र पार्ने विश्वास गरिएको छ।


Back_to_top