प्रदर्शनीकर्तालाई महँगो पर्यो ‘पोखराको अटो शो २०८२’, कहाँ चुक्यो वाडा ?

काठमाडौं । पोखरामा भएको ‘वाडा अटो शो २०८२’ आज सम्पन्न हुँदैछ । शो नै सम्पन्न नभई हतारमा टिप्पणी गर्यो भन्ने धेरैलाई लाग्ला । होइन, आयोजकको कमजोरीको कारण वाडा अटो शो पूर्णतः असफल भयो भन्न कुनै साइत जुराइ राख्न पर्दैन ।

आयोजक संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) को कमजोरीकै कारण अघिल्लो संस्करणको तुलनामा यस वर्षको अटो शो खराब भएको हो । यहाँ यति उल्लेख गरिरहँदा अटो शोको व्यवस्थापन कमजोर थियो वा स्टलहरू खराब बनेका थिए भन्न खोजिएको होइन ।

स्टल निर्माण, पार्किङ व्यवस्थापन र त्यहाँ भित्रको व्यवस्थापन पहिलेभन्दा निकै अब्बल थियो । नभएको अवलोकनकर्ता हुन् । अवलोकनकर्ता नहुनुमा सबैभन्दा ठूलो गल्ती आयोजक संस्थाले गरेको हो ।

पोखरामा हुने अटो शो पर्यटकीय क्षेत्र लेक साइडमा आयोजना गर्नु नै पहिलो गल्ती भयो । पोखराको अटो शो त्यही क्षेत्र र भेगमा बसोबास गर्ने मानिसलाई लक्षित गर्नु पर्नेमा त्यो हुन सकेन । त्यही कारण अटो शो घुम्ने मानिस नै भएनन् । अवलोकनकर्ताको सहभागीता नभएको अटो शो कतैबाट सफल मान्न सकिँदैन ।

वाडा अटो शो असफलताको अर्को मुख्य कारण कमजोर प्रचार प्रसारमा देखियो । लेक साइडमै बसोबास गर्नेहरूमा पनि आफ्नो नजिकै अटो शो हुँदैछ भन्ने सूचना दिन नसकेको देखियो । बरु महिन्द्राले सडकमा कन्र्सट गरेर मानिस तान्न सफल भएको हामीले बुझ्यौं । वाडाले आफ्नो अटो शो गर्ने कुरा जनमानसमा पठाउनै सकेन । त्यसैले शो नै फ्लप भयो ।

तेस्रो समस्या मौसम दियो । वाडा अटो शो आयोजकको लागि यो समस्या नहोला । उसले पानीको कारण मानिस आउन सकेनन् भन्छ होला । तर, प्रदर्शनीकर्ताको आँखाबाट मौसम पनि अटो शोको लागि भिलेन बन्यो ।

सारमा देखिएका यी नै कुराले अटो शोलाई भव्य बनाउन सकेन । तर, अटोमोबाइल प्रेमीको लागि यो निकै ठूलो निरासाजनक कुरा हो । अघिल्लो संस्करणमा भव्य बनेको वाडा अटो शो दोस्रो संस्करणमा पुग्दा नै किन सिथिल बन्यो भन्ने चिन्ता हुनु स्वभाविक हो ।

यसका अलावा अन्य ठूला सहरहरूमा पनि अटो शो हुन सक्ने आधार तयार हुँदै गर्दा पोखरामा भएको गल्तीबाट धेरै कुरा सिक्न सकिने देखिन्छ । त्यसको लागि आयोजकले निर्मम समीक्षा गर्न आवश्यक हुन्छ ।

निरास प्रदर्शनीकर्ता

अटो शोमा निकै ठूलो उत्साह सहित ब्राण्डहरू सहभागी थिए । जसमा हुन्डाई, मारुती सुजुकी, टाटा, बीवाइडी, किया, एमजी, प्रोटोन, मेक्सस, फरथिङ, निसान, ओमोडा/जेको, आइकार, केई जस्ता ब्राण्ड थिए ।

विभिन्न १० ब्राण्डका दुईपाङ्ग्रे साधन थिए । टीभीएस, यामाहा, रोयल इनफिल्ड, जोन्टेस्, एथर लगायका ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । जहाँ ६ ब्राण्डका लाइट कमर्शियल र एउटा ब्राण्डको हेभी कमर्शियल गाडी थियो ।

त्यसका अलावा ग्यारेज इक्यूपमेन्ट, ब्याट्री, टायर, ल्युब लगायत थुप्रै कम्पोनेन्ट उत्पादक र बिक्रेताले सहभागिता जनाएका थिए । तर, अवलोकनकर्ताको कमजोर उपस्थितिले उनीहरूलाई पनि निरास बनायो ।

नमागेको सुझाव

आयोजकले नमागे पनि यस्ता सार्वजनिक महत्व राख्ने कार्यक्रम अबलोकनपछि केही सुझाव दिन मन लाग्यो । यो सुझाव आयोजकले मागेर दिन खोजेको होइन ।

कुनै पनि मेला महोत्सव गर्नुअघि त्यसलाई आयोजन गर्ने सही स्थान छनोट गर्नुपर्छ । एक वर्ष एउटा चउर, अर्को वर्ष अर्को चउर गर्दा त्यसले अफ्ठेरो पर्छ । अटो शो कुरेर बस्ने मानिस पनि झुकिन्छ ।

दोस्रो, सूचना पुर्याउन सक्नु पर्छ । अवलोकनकर्तामा सूचना नपुग्दा उपस्थिति कमजोर बन्छ । त्यसको बेफाइदा अटो शोसँग जोडिने सबैमा पर्छ । पोरखा बजारमै त ब्राण्डिङ गर्न सकिन्थ्यो होला नि ? त्यो भएको पनि हामीले पाएनौं ।

तेस्रो, प्रदर्शनीकर्ताहरूले पनि अवलोकनकर्ता बोलाउन मेहनत गर्नुपर्छ । उनीहरूलाई आकर्षक स्कीम दिएर तान्नु पर्नेमा त्यस्तो केही देखिएन । अर्को पटकबाट सहभागिहरूसँग केही न केही स्कीम माग्नु पर्ने देखियो ।

अन्तिम, मौसम सम्बन्धी जानकारी २ दुई महिना अगाडि नै लिन सक्ने भइसकेको छ । त्यसैले मौसमको जानकारी लिएर मात्रै मेलाको मिति घोषणा गर्दा पछि पछुताउनु पर्दैन ।


Back_to_top