काठमाडौं । नेपालमा कारको बिक्री सुरू हुँदा जापानी उत्पादनको एकलौटी बजार थियो । लामो समय संख्यात्मक रूपमा कम भए पनि बजार हिस्साको आधारमा जापानी ब्राण्डका कार नेपालीको रोजाइमा पर्यो ।
समय क्रमसँगै कोरियन, युरोपियन, अमेरिकन र इन्डियन ब्राण्डले नेपालमा कारहरू बेच्न थाले । सबैले एउटा समयमा राम्रो बजार पनि पाएको हामीले देखेकै छौं । माथि उल्लेख भएका भूगोलमा जन्मेका कार ब्राण्डलाई पछाडि धकेल्दै अहिले चिनियाँ ब्राण्डका कार अगाडि लागेका छन् ।
विद्युतीय कारको उदयसँगै चिनियाँ कारहरू बर्चश्व बढ्दै जाँदा युरोपियन कारहरू भने संकटतर्फ गइरहेका छन् । उनीहरूको मुख्य समस्या भनेकै नेपालमा ईभी बिक्री नथाल्नु हो ।
अहिले युरोपियन ब्राण्ड स्कोडा, फक्सवागेन, रेनो, सिट्रोन, प्यूजो जस्ता ब्राण्डका कार नेपालमा उपलब्ध छन् । तर, संख्यात्मक बिक्रीको हिसाब गर्दा कुनै पनि ब्राण्डको आयात नै टप १० भित्र अटाउने अवस्था छैन ।
यसले के देखाउँछ भने युरोपियन कार नेपाली बजारको माग अनुसार उपलब्ध छैन भन्ने प्रष्ट पार्छ । युरोपियन कारहरू अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने मात्रै बिक्री भइरहेको छ । भारतमा सिट्रोनले उत्पादन गरेको इलेक्ट्रीक सीथ्री मात्रै युरोपियन ब्राण्डको एक मात्र ईभी नेपाली बजारमा उपलब्ध छ ।
अन्तर्राष्ट्रिय बजारमा स्कोडा, फक्सवागेन, रेनो, प्यूजो लगायतका सबै ब्राण्डसँग विद्युतीय कार उपलब्ध छ । तर, नेपाली बजारमा कुनै पनि ब्राण्डले ईभी ल्याएर बिक्री गरेका छैनन् ।
कुन ब्राण्डसँग कस्तो ईभी ?
युरोपियन ब्राण्डसँग ईभीको लामो लाइनअप उपलब्ध छ । तर, नेपालका विभिन्न रेगुलेसन देखाएर कम्पनीले विद्युतीय कार बिक्री गर्न नदिएको बिक्रेताहरू बताउँछन् ।
फक्सवागेनको आइडी सिरिजमा थुप्रै मोडल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ । तर, नेपालमा अहिलेसम्म एउटा पनि मोडल उपलब्ध छैन । त्यसको मुख्य कारण ईभीको प्रयाप्त पूर्वाधार नेपालसँग छैन भन्ने बुझाइ फक्सवागेनले राखेको पूजा इन्टरनेशनलका सीईओ विवेक बिजुक्छेले बताए ।
‘हाम्रोमा थुप्रै ब्राण्डका ईभी छन् । अचानक आगलागी हुँदा सरकारले कसरी रेक्यू गर्छ भनेर प्रश्न गर्छन् । युरोपियनहरू सुरक्षामा निकै स्ट्रीक भएको कारण विद्युतीय गाडी पाएका छैनौं,’ सीईओ बिजुक्छेले भने ।
फक्सवागेनका अलावा स्कोडाले इन्याक ईभी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । तर, अहिलेसम्म नेपाल आउन सकेको छैन ।
रेनो क्वीड ईभी चीनमा उत्पादन र बिक्री हुँदै आएको छ । नेपाली सडकमा परीक्षण समेत भइसकेको क्वीड ईभी अहिलेसम्म बिक्रीको लागि उपलब्ध हुन सकेको छैन ।
त्यही अवस्था प्यूजोको पनि छ । युरोपियन जाइन्ट स्टेलान्टिस ग्रुपको प्यूजो ब्राण्डमा २००८ र ३००८ एसयूभी इलेक्ट्रीकमा उपलब्ध छ । तर, अहिलेसम्म नेपाल ल्याएर बिक्री थालेको छैन ।
कमजोर बिक्रीपछिको सेवाले थलिँदै
युरोपियन कारको बिक्री कमजोर हुनुमा बिक्रीपछिको सेवा पनि एक कारण रहेको छ । युरोपियन कार ब्राण्डहरूले बिक्रीपछिको सेवामा सन्तुष्ट ग्राहक बनाउन सकेका छैनन् ।
उनीहरूलाई लाग्ने गरेको आरोप महंगो पार्ट्स, कमजोर सर्भिस नेटवर्क, पार्ट्स चाहिँदा स्टकमा उपलब्ध नहुने र गाडी बिग्रेको खण्डमा लामो समय थन्काउन पर्ने भन्ने छ ।
हामीले बजारमा भेट्ने १० मध्य ७ वा ८ जना युरोपियन कार चढ्नेहरूले कमजोर सर्भिसको गुनासो गर्ने गर्छन् ।

