काठमाडौं । नेपालको एक मात्र रेल्वे सेवा प्रदायक नेपाल रेल्वे कम्पनी घाटामा संचालन भइरहेको छ । कम्पनीको नियमति आम्दानीभन्दा खर्च धेरै भएपछि घाटामा गएको हो ।
कम्पनीको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा आम्दानी खर्च बीचमा ठूलो खाडल देखिएको छ । कम्पनीको व्यावसायिक कार्ययोजना २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म कम्पनीले कुल १९ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
जबकि, सोही अवधिमा कम्पनीको खर्च ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । पछिल्लो ५ वर्षमा मात्रै कम्पनीले ४८ करोड १४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत आर्थिक वर्षमा मात्रै कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ घाटा खाएको छ । कम्प्नीले गत आव २०८०/८१ मा ८ करोड ५० लाख आम्दानी गर्दा २६ करोड २७ लाख खर्च भएको छ ।
कम्पनीका अनुसार हाल कम्पनीको मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ र मासिक खर्च १ करोड २९ लाख रुपैयाँ रहेको छ ।
घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च मुख्य रहेको छ । कम्पनीका अनुसार हाल १७ जना भारतीय कर्मचारी कार्यरत छन् । उनीहरूका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब १ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्नुुपर्छ । जबकि, १०३ नेपाली कर्मचारीलाई मासिक १७ लाख तलब खर्च हुन्छ ।
त्यस्तै, स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेसन मास्टरको अभाव, फ्युलिङ स्टेसन नहुनु र इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्था लगायतले संचालन खर्च बढाएको कम्पनीको भनाइ छ । साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा व्यवस्थापन कमजोर बनेको छ।
रेलको आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै संचालन गर्नुपरेको कम्पनीको प्रबन्ध संचालक निरञ्जन कुमार झा बताउँछन् । उनका अनुसार गत असार मसान्तसम्म कम्पनीको ऋण ७९ करोड रुपैयाँ नाघिसकेको छ ।
‘गत आव २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण ७९ करोड रुपैयाँ नाघेको छ । यसले कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ,’ उनले भने, ‘यद्यपि, यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ।’
हाल रेलसेवा महोत्तरीको बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म संचालन भइरहेको छ । यो रेल रेवा दैनिक तीन पटक संचालन हुँदै आएको छ ।
वि.सं. १९९४ मा सुरू भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो। विसं २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ।
कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ । कम्पनीले आफ्नो स्वामित्वको जग्गा भाडामा दिने, पुरानो रेललाई म्युजियम बनाउने, कार्गो सेवा संचालन गर्ने लगायत योजना बनाएको छ ।
कम्पनीका अनुसार रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब ८ करोड आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै, पुरानो न्यारो गेज रहँदाको कोइला इन्जिन सहितका चीजहरूलाई रेल म्युजियम स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि सारेको छ ।
समयमा व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति उत्पादन, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने जानकारहरू बताउँछन् ।


