चैतसम्म भित्रिए साढे ११ हजार कार, ईभी आयात १०% घट्यो

फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिना (साउन-चैत) मा झण्डै साढे ११ हजार युनिट कार आयात भएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मसान्तसम्म कुल ११ हजार ३१३ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।

गत आवको ९ महिनाको तुलनामा चालु आवमा समग्र कार आयात ५.६४ प्रतिशत अर्थात् ६०४ युनिटले वृद्धि भएको छ । गत वर्ष चैतसम्म कुल १० हजार ७०९ युनिट कार आयात भएको थियो ।

चालु आवमा कुल २० अर्ब ६७ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले १९ अर्ब १८ करोड रुपैयाँ राजस्व पाएको छ ।

ईभी आयात घट्यो

चालु आवमा समग्रमा कार आयात बढ्दा विद्युतीय कार आयातमा भने ९.९७ प्रतिशत गिरावट आएको छ । गत वर्ष ९ महिनामा ७ हजार ९६७ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ ।

चालु आवमा कुल १६ अर्ब ६६ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व पाएको छ ।

चालु आवको बजेट अघि कर बढ्ने हल्लाले व्यवसायीले झण्डै ६ हजार ईभी आयात गरेको थिए । ती कार अझै बिक्री भइनसकेकाले आयातमा प्रभाव परेको हो । साथै, पेट्रोल कार आयत बढ्दा पनि ईभी आयातमा केही असर परेको हो ।

चालु आवमा ५० किलोवाटसम्मका २५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५७४ र २०१ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।

पेट्रोल कार आयातमा उछाल

चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने उछाल आएको छ । ९ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ ।

यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कुल २ हजार ७४२ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । यद्यपि, पछिल्लो महिना इरान युद्धका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयात सुस्ताएको छ ।

पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ९ महिनामा कुल ४१४० युनिट पेट्रोल कार आयात हुँदा १८३७ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।

नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


Back_to_top