तयार भयो एकैपटक १० हजार ८०० कार बोक्ने जहाज

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो कार क्यारियर (सवारी साधन बोक्ने जहाज) तयार भएको छ ।

चीनको सरकारी स्वामित्वको ‘ग्वाङ्झाउ शिपयार्ड इन्टरनेशनल कम्पनी लिमिटेड’ले बनाएको उक्त जहाज मंगलबार दक्षिण कोरियाको एचएमएम कम्पनीलाई हस्तान्तरण गरेको हो ।

चिनियाँ अटो निर्माताहरूले आफ्नो अन्तर्राष्ट्रिय बिक्रीलाई बढाउन आफ्नो सामुद्रिक फिल्टस् विस्तार गरिरहेका बेला यो कीर्तिमानी जहाज हस्तान्तरण भएको हो ।

चिनियाँ संचारमाध्य सिन्ह्वाका अनुसार यो जहाजले एकैपटक १० हजार ८०० युनिट सवारी साधन बोक्न सक्छ । चाइना स्टेट शिपबिल्डिङ कर्पोरेसन अन्तर्गतको सांघाई मर्चेन्ट शिप डिजाइन एण्ड रिसर्च इन्स्टिच्युटले डिजाइन गरेको यो विशाल जहाजको कुल लम्बाइ २३० मिटर र चौडाइ ४० मिटर छ।

यस जहाजमा एलएनजी र इन्धन दुवैबाट चल्ने डुअल फ्युल प्रोपल्सन प्रणाली जडान गरिएको छ। यसले अन्तर्राष्ट्रिय समुद्री संगठनको टियर ३ उत्सर्जन मापदण्डहरू पालना गर्दछ । यसको डिजाइन गति १९ नट्स रहेको छ ।

जहाजको भित्री भागमा १४ वटा सवारी डेकहरू रहेका छन् । जहाँ इलेक्ट्रीक गाडी, हाइड्रोजनबाट चल्ने सवारी, हेभी ड्युटी ट्रकहरू जस्ता विभिन्न प्रकारका सवारी साधन सजिलै लोड गर्न सकिन्छ ।

यसमा लोड गरिएका गाडीहरूलाई एकपछि अर्को गरी लामबद्ध राख्ने हो भने तिनको लम्बाइ ५० किलोमिटरभन्दा बढी हुनेछ ।

यसअघि अप्रिल २०२५ मा ९,२०० युनिट सवारी बोक्ने बीवाइडी शेन्जेन संचालनमा आएको थियो । जुन त्यतिबेला क्षमताको हिसाबले विश्वकै ठूलो कार क्यारियर थियो । बीवाडीसँग यो बाहेक समान ९२०० युनिट क्षमताका अरु दुई जहाजहरू बीवाइडी चाङ्शा र बीवाइडी सियान पनि रहेका छन्।


Back_to_top