काठमाडौं । विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भएसँगै वीरगंज भन्सार कार्यालयको सेवा प्रभावित भएको छ ।
सरकारले वैशाख १५ गतेदेखि भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य एमआरपी कार्यान्वयन गरेपछि व्यवसायीले त्यसको विरोध गर्दा एक सातादेखि मालवस्स्तु जाँचपास ठप्प भएको हो ।
एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन ।
भन्सार जाँचपास हुन नसक्दा भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ । हालसम्म १ हजार ४०० बढी मालबाहक सवारी जाँचपास हुन बाँकी रहेको छ । ती गाडी नेपाल तथा भारततर्फको सडकमा लामबद्ध भएर बसेका छन् ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले दैनिक २०० भन्दा धेरै मालवाहक सवारीसाधन थपिने बताए । उनले भन्सार कार्यालय जाँचपासको प्रक्रिया गराउन तयार रहे पनि आयातकर्ताले भन्सार जाँचपास गर्र्ने फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सहभागी नहुँदा रोकिएको बताए ।
‘भन्सार कार्यालय जाँचपासको प्रक्रिया गराउन तयार छ । तर, आयातकर्ता भन्सार जाँचपास गर्ने फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक भएका छैनन् । त्यसैले भन्सार जाँचपास रोकिएको हो । भन्सार विभागले आवश्यक समन्वय गरिरहेको छ । छिट्टै यो समस्या अन्त्य हुने अपेक्षा राखेका छौँ,’ उनले भने ।
वीरगंज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ ।


