काठमाडौं । नेपाली बजारमा एकैसाथ वुलिङमा ४ नयाँ मोडल आउने भएका छन् । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक साथ ४ मोडलका ईभी ल्याउने भएको हो ।
सन् २०२३ देखि नेपाली बजारमा प्रवेश वुलिङले अब आक्रामक रूपमा आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्न लागेको हो ।
पारामाउन्टले वुलिङको कम्प्याक्ट सिटी कारदेखि फुल साइज एसयूभीसम्म ल्याउने भएको हो । जसमा नयाँ ७ सिटे एसयूभी, ७ सिटे एमपीभी, ४ ढोके मिनी ईभी र वुलिङ बिंगोको नयाँ अपडेटेड भर्सन रहेका छन् ।
कम्पनीले फुल साइज फ्ल्यागशिप एसयूभी वुलिङ एक्सियन ईभी ल्याउने भएको छ । यसमा ६९.२ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटको फुलचार्जमा ५३० किलोमिटर रेन्ज दिन्छ । यसमा एडास, ३६० डिग्री क्यामेरा जस्ता उन्नत सुरक्षा फिचरहरु पनि उपलब्ध हुने छन् ।

त्यस्तै, कम्पनीले सहरी क्षेत्रका लागि उपयोगी ४ ढोके वुलिङ मिनी ईभी ल्याउने भएको छ । ग्लोबल स्मल इलेक्ट्रक भेहिकल प्लेटफर्ममा आधारित यसले ३०१ किमीसम्मको रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।
त्यसैगरी, कम्पनीले वुलिङ डेरियन एमपीभी ल्याउने भएको छ । ७ सिट क्षमताको यो एमपीभीमा स्लाइडिङ ढोका र प्रिमियम इन्टेरियर रहेको छ । ५४० किमीसम्मको रेन्ज दिने यो एमपीभी आरामदायी लामो यात्राका लागि डिजाइन गरिएको हो।

कम्पनीले हाल नेपालमा बिक्री गरिरहेको वुलिङ बिंगोको नयाँ भर्सन ल्याउने छ । नयँँ बिंगो थप शक्तिशाली र परिष्कृत सुविधासहित आउनेछ ।
यो ३१.९ किलोवाट आवर र ३७.९ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउने छ । जसले एकपटकको फुलचार्जमा क्रमशः ३३३ किमी र ४१० किमी रेन्ज दिनेछ ।
यसमा १०.२५ इन्च डुअल स्क्रीन, ७९० लिटर कार्गो स्पेस रहेको छ । यसमा सुरक्षाका लागि एबीएस, ईबीडी, ६ वटा एयरब्याग जस्ता फिचर छन् ।

यी चारै मोडलको बिक्री चाँडै थालिने कम्पनीले जनाएको छ । कम्पनीले ल्याउने वुलिङका चारै मोडलहरूमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध हुनेछ । जसले दीर्घकालीन विश्वसनीयता सुनिश्चित गर्ने विश्वास लिइएको छ। नयाँ मोडलहरूको आगमनसँगै पारामाउन्टले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने छ ।

