३१ चालकको लाइसेन्स निलम्बन गर्न पत्रचार, १६ पटकसम्म तोडे नियम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन प्रक्रिया अघि बढाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।

कार्यालयका अनुसार एउटै चालकले १६ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि लाइसेन्स निलम्बनका लागि विभागलाई पत्रचार गरिएको हो । पटक पटक जरिवाना तिराउँदा पनि ती चालकले ट्राफिक नियम पालाना नगरेपछि लाइसेन्स निलम्बन प्रक्रिया अघि बढाइएको कार्यालयको भनाइ छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कुनै पनि चालकले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ ।

‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम चालकले पालन गर्नु पर्ने शर्तहरू पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र छ महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ,’ ऐनको दफा ६० मा भनिएको छ ।

लाइसेन्स निलम्बन परेका चालकले ६ महिनासम्म कुनै पनि सवारी साधन चलाउन पाउने छैनन् । निलम्बन फुकुवा भएपछि मात्रै पुनः सवारी चलाउन पाउने छन् ।


Back_to_top