हुन्डाईले नेपालमै कार उत्पादन थालेको २ वर्ष पूरा, अब ईभी उत्पादन थाल्ने

काठमाडौं । हुन्डाईको मोटर्सको कारहरू नेपालमै एसेम्बल गर्न खुलेको प्लाण्टले संचालनको दुई वर्ष पूरा गरेको छ । कम्पनीले परासीको रामग्राममा प्लाण्ट स्थापना गरी २०८१ वैशाख २८ गतेदेखि गाडी एसेम्बल सुरू गरेको थियो । उक्त प्लाण्ट तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेका थिए ।

लक्ष्मी मोटर कर्पोरेशनको नामबाट संचालनमा आएको उक्त प्लाण्टमा अहिले दुई मोडल उत्पादन हुँदै आएका छन् । कम्पनी स्रोतका अनुसार अहिले भेन्यू सब फोर मिटर एसयूभी र क्रेटा कम्प्याक्ट एसयूभी उत्पादन भइरहेको हो ।

सरकारले ईभीको प्रयोगलाई जोडबल गरिरहेको समयमा खुलेको नयाँ प्लाण्टमा ठूलो संख्यामा पेट्रोलियम पदार्थबाट चल्ने गाडी उत्पादन हुन सकेको छैन । ईभी उत्पादनको पूर्वाधार तयार भएपनि यहाँ बनाउँदा उल्टो महँगो पर्ने अवस्था भएको कारण बनाउन थालिएको छैन ।

यस्तो छ प्लाण्ट

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेशनले २ अर्ब रुपैयाँ खर्चेर बनाएको एसेम्बलिङ प्लाण्ट निकै हाइटेक छ । विगत दुई वर्षमा उक्त प्लाण्टबाट २ हजार युनिट एसयूभी उत्पादन भइसकेका छन् । विद्युतीय कारमा बढ्दो आकर्षणका बीच हुन्डाई क्रेटा र भेन्यू एसयूभीले बजारमा राम्रो बिक्री पाउँदा २ हजार युनिट उत्पादन पूरा गर्न सफल भएको हो ।

विगत दुई वर्षमा नयाँ प्लाण्टको संचालनपछि ६०० करोड रुपैयाँ बराबरको राजश्व तिर्न सफल उद्योगमा अहिले २०० जना हाराहारी इन्जिनियर र अन्य जनशक्तिले काम गरिरहेको छ ।

रामग्राममा १० बिघा जमिनमा निर्माण भएको प्लाण्टको सेड निर्माण, एसेम्बलिङ लाइनअप निर्माण, टेष्टिङ सेन्टरहरूको निर्माण र अन्तिममा गरिने रोड टेष्टको लागि तयार पारिएको ट्रयाकले कम्पनीको भिजन दर्शाउँछ ।

छिट्टै ईभी उत्पादन थाल्ने

लक्ष्मी मोटर कर्पोरेशनले आगामी दुई वर्षको रणनीति पनि तयार पारेको छ । कम्पनीले आगामी दुई वर्षमा थप २ अर्ब लगानी गर्ने घोषणा गरेको छ । थप लगानी ईभी उत्पादनलाई केन्द्रमा राखेर गर्न लागिएको हो ।

लगानी थपसँगै कम्पनीले अबको दुई वर्ष भित्र ६ हजार युनिट कार उत्पादन गर्ने लक्ष्य राखेको छ । साथै, आगामी दुई वर्ष भित्र ‘लोकलाइजेशन’लाई प्राथमिकतामा राख्दै कम्पोनेन्टहरू उत्पादन थाल्ने जनाएको छ । आगामी दुई वर्षमा थप ४०० जनालाई रोजगारी दिने योजना कम्पनीले अगाडि बढाएको हो ।

‘लगानी वृद्धि र लोकलाइजेशन हाम्रो मुख्य लक्ष्य हो । हामी कार उत्पादनको युगमा प्रवेश गरिसकेका छौं । अबको दुई वर्ष यही भ्यालु एड गर्दै एसेम्बलिङ अद्योगलाई अर्को लेभलमा लाने योजना हो,’ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशन निराकार श्रेष्ठले मेरोअटोसँग भने ।

अहिलेकै एसेम्बली लाइनअपमा केही विस्तार गर्ने बित्तिकै ईभी उत्पादन गर्न सकिने अवस्था छ । कम्पनीले दीर्घकालीन सोच बनाएर यसअघि नै प्लाण्ट स्थापना गरेको कारण ईभी उत्पादनको बाटो सजिलै तय हुन लागेको हो ।

मूल्यमा उपभोक्तालाई राहत

हुन्डाईका गाडी नेपालमै एसेम्बल भएसँगै उपभोक्ताले मूल्यमा ठूलो राहत पाएका छन् । क्रेटा र भेन्युको मूल्य पहिलेभन्दा १० प्रतिशतसम्म सस्तिएको कम्पनीले जनाएको छ ।

उपभोक्ताले क्रेटाको टप भेरियन्ट ९ लाख रुपैयाँसम्म सस्तो पाएका छन् । कम्पनीले क्रेटाको टप भेरियन्ट (एसएक्स अप्सनल अटोमेटीक) ८७ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । तर, नेपाल एसेम्बलपछि मूल्यमा भारी कटौती गर्दै ७८ लाख ९६ हजारमा उपलब्ध गराएको थियो ।


Back_to_top