युरोपमा राम्रोसँग नचलेका पुराना प्लाण्ट खोज्दै बीवाइडी

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिनियाँ न्यू इनर्जी भेहिकल उत्पाद बीवाइडीले युरोपमा आफ्नो उपस्थिति बलियो बनाउन नयाँ रणनीति अपनाउने भएको छ ।

बीवाइडीले युरोपमा रहेका कम प्रयोगमा रहेका सवारी प्लाण्टहरू लिनका लागि स्टेल्लान्टिस लगायत अन्य युरोपेली अटो कम्पनीहरूसँग छलफल गरिरहेको हो ।

लण्डनमा आयोजित ‘फाइनान्सियल टाइम्स फ्युचर अफ द कार’ सम्मेलनको अवसरमा बीवाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले एक अन्तर्वार्ता दिँदै कम्पनीले इटाली लगायतका देशहरूमा रहेका प्लाण्ट लिनका लागि सम्भावित सम्झौताहरूका बारेमा कुराकानी गरिरहेको बताइन् ।

‘हामी केवल स्टेल्लान्टिससँग मात्र होइन, अन्य कम्पनीहरूसँग पनि कुरा गरिरहेका छौं,’ उनले भनिन् । उनका अनुसार कम्पनीले युरोपमा उपलब्ध जुनसुकै ब्राण्डको प्लाण्ट खोजी गरिरहेको छ । किनकि बीवाइडीले ती नचलेका प्याण्टलाई सदुपयोग गर्न चाहेको उनले बताइन् ।

बीवाइडीले ती प्लाण्टहरू ज्वाइन्ट भेन्चर मार्फतभन्दा पनि आफ्नै स्वामित्वमा संचालन गर्न प्राथमिकता दिने उनले स्पष्ट पारिन् ।

स्टेल्लान्टिसले यसै महिनाको सुरुमा युरोपमा लीपमोटरसँग मिलेर काम गर्ने नयाँ योजना सार्वजनिक गरे लगत्तै बीवाइडीको यो प्रतिक्रिया आएको हो।

स्टेल्लान्टिस र लीपमोटरले स्पेनको जारागोजा प्लाण्टमा नयाँ ओपेल इलेक्ट्रीक एसयूभी र लीपमोटर बी १० मोडल उत्पादन गर्न नयाँ उत्पादन लाइन थप्ने योजना बनाएका छन्। साथै, उनीहरूले म्याड्रिडमा रहेको स्टेल्लान्टिसको भिल्लाभरडे प्लाण्टको स्वामित्व लीपमोटरको स्पेनिश सहायक कम्पनीलाई हस्तान्तरण गर्ने र त्यहाँ नयाँ लीपमोटर मोडलहरू उत्पादन गर्ने लक्ष्य राखेका छन्।

चीनमा जारी प्राइस वारका कारण दबाबमा परेका बीवाइडी लगायतका चिनियाँ अटो निर्माताहरूले हाल विदेशमा आफ्नो व्यापार विस्तार गरिरहेका छन् ।

जिली अटोले पनि युरोपमा ईभी विस्तारका लागि स्पेनमा रहेको फोर्डको एसेम्बली लाइन अधिग्रहण गर्न लागेको खबर हालै बाहिरिएको थियो। बीवाइडीले हंगेरीमा पहिले नै यात्रुवाहक कार प्लाण्ट निर्माण गरिसकेको छ । त्यहाँ परीक्षण उत्पादन सुरु भइसकेको छ। कम्पनीले टर्कीमा पनि उत्पादन केन्द्र निर्माण गर्ने योजना घोषणा गरिसकेको छ।

बीवाइडीले गत महिना पेरिसमा आफ्नो प्रिमियम सबब्रान्ड डेन्जा सार्वजनिक गर्दै अल्ट्रा फास्ट चार्जिङ प्रविधि प्रदर्शन गरेको थियो।


Back_to_top