काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ।
मुग्लिन-पोखरा सडकको पूर्वीखण्ड (आँबुखैरेनी-जामुने)को विस्तार सकिएसँगै सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिइएको हो ।
पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले सडक निर्माण सम्पन्न भएसँगै सडक किनारामा पर्ने सम्पदा निर्माणमा तीव्रता दिइएको जानकारी दिए।
उनले सडक कालोपत्र, लेन मार्किङ र अन्य प्राविधिक काम सकिएसँगै अब सडक किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको बताए । उनले करिब २ करोड रुपैयाँ लागतमा धार्मिक तथा सांस्कृतिक सम्पदा निर्माण थालिएको बताए ।
‘सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित बजेटबाट अधिकांश मठमन्दिर र पाटीपौवाको पुनर्निर्माण धमाधम भइरहेको छ,’ उनले भने ।
उनका अनुसार व्यास नगरपालिका-१२ घाँसीकुवामा रहेको ऐतिहासिक भानु घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि समेत विशेष तयारी भइरहेको छ ।
भानु घाँसी पार्क संरक्षण समितिले तयार पारेको तीन करोड रुपैयाँको बृहत् गुरुयोजना अनुसार पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसंग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
एसियाली विकास बैंकको करिब ६ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडकखण्डको निर्माण पूरा भइसकेको छ।


