काठमाडौं । एमएडब्लूले यामाहाको नयाँ एडभेन्चर बाइक नेपाली बजारमा ल्याउने तयारी सुरु गरेको छ । कम्पनीले यामाहाको पछिल्लो उत्पादन XTZ 150 धेरै अघिदेखि नेपाली सडकमा परिक्षण गरिरहेकाे थियाे ।
कम्पनीले ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड-१५० क्रसर भेरियन्टको सडक परिक्षण गरिरहेको छ । बाइकमा क्रसरलाई छोपिएको अवस्थामा देख्न सकिन्छ । नेपाली बजारमा ल्याउने तयारी गरेको उक्त बाइक यामाहाले केही समय अगाडि बंगलादेशमा सार्वजनिक गरेको थियो ।
यामाहाको नयाँ एड्भेन्चर बाइकमा १४९.३ सीसीको फोर स्टोक, एसओएचसी २ भल्व, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा १२.३ बीएचपी र ६००० आरपीएममा १२.७५ एनएम टर्क उत्पादन गर्छ भने ११० किलोमिटर प्रतिघन्टाको रफ्तार पकडन सक्ने छ ।
वेट मल्टी डिस्क क्लचयुक्त एक्सटीजेड-१५० मा ५ स्पीड गियरबक्स दिइएको छ । अफरोडको लागि विशेष किसिमले डिजाइन गरिएको यो बाइकले प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्ने बताईएको छ ।
डाइमेन्सनको कुरा गर्नुपर्दा यो बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ भने बाइकको ह्वील बेस भने १३४९ एमएम रहेको छ । बाइकको तौल १२४ केजी रहेको छ ।
२३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । ११ लिटरको फियूल ट्याङ्क रहेको बाइक ३ लिटर इन्धन बाँकी रहँदा रिर्जबमा लाग्ने छ ।
अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि १६० एमएमको मोनो–क्रस रियर स्केल सस्पेन्सन रहेको छ ।
यसलाई कहिलेबाट बजारमा बिक्री सुरु गर्ने भन्ने विषयमा कम्पनीले अहिलेसम्म केही जानकारी दिएको छैन । मूल्य लगायतका विषय थाहापाउन भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।

