इथानोल मिसाउन निमगले उत्पादकसँग माग्यो आवेदन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाएको छ । निगमले इथानोल आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूसँग आवेदन माग गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २०८२ फागुन २८ गते राजपत्रमा पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेशमा उल्लेख भए बमोजिमको गुणस्तर र विधि अनुसारको इथानोल खरिद गर्ने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार यस प्रक्रियामा सहभागी हुन इच्छुक स्वदेशी उत्पादकहरूले निगममा तोकिएको प्रक्रिया पुर्याइ आवेदन दिन सक्नेछन् ।

राजपत्रमा प्रकाशित आदेश अनुसार इथानोल उत्पादनका लागि विभिन्न प्रकारका कृषिजन्य कच्चा पदार्थहरू प्रयोग गर्न सकिन्छ । इथानोलका लागि चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ वा बायोमास, पराल, मकैको ढोड, गहुँको छवाली जस्ता कृषि अवशेषका साथै खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न र सिमल तरुललाई पनि कच्चा पदार्थको रूपमा उपयोग गर्न पाइन्छ ।

तर, मानिसले खाद्यान्नको रूपमा प्रयोग गर्ने योग्य अन्नलाई भने इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।


Back_to_top