सानो र सस्तो कार खोज्नेले कुर्नै पर्ने ह्याचब्याक

काठमाडौं । वुलिङ मिनी ईभीको पाँचौं संस्करण नेपाल आउने भएको छ । पारामाउन्ट मोटर्सले ल्याउने नयाँ जेनेरेशन वुलिङ मिनी चार ढोका भएको ह्याचब्याक कार हो ।

वुलिङको मिनी ईभी अन्तर्राष्ट्रिय बजारमा टु डोर र फोर डोरमा उपलब्ध छ । तर, नेपालमा भने पारामाउन्ट मोटर्सले चार ढोका भएको ह्याचब्याक कारको रूपमा ल्याउने छ । पाँचौं संस्करण वुलिङ मिनी दुई ब्याट्री अप्सनमा आउने छ ।

‘अहिले साना ईभी किन्न बसेका उपभोक्तालाई बम्पर स्कीम दिए जसरी वुलिङ मिनी ईभी ल्याउने छौं । उपभोक्ताले दुई ढोका भएको मिनी कारभन्दा सस्तो मूल्यमा चार ढोका भएको वुलिङ मिनी पाउने छन्,’ पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।

कम्पनीका अनुसार नेपाली बजारमा उपलब्ध कुनै पनि मिनी कारभन्दा कम मूल्य र बढी फिचरको साथ यसलाई बजारमा उतार्ने तयारी भइरहेको छ । स्रोत भन्छ, ‘अबको केही समय भित्र सानो ईभी किन्नेको लागि हामी बम्पर लाग्ने मूल्य अफर गर्छौं । यसले ईभी बजारमा नयाँ तहल्का सृजना गर्छ ।’

चिनियाँ सरकारी लगानीको कम्पनी एसएआइसी, अमेरिकी अटोमोबाइल जाइन्ट जनरल मोटर्स र चिनियाँ कम्पनी वुलिङको संयुक्त लगानी रहेको ‘वुलिङ मिनी’ विश्वभर सर्वाधिक बिक्री भएको विद्युतीय सानो ह्याचब्याक कार हो । निकै किफायती मूल्य, संचालन खर्च कम र सानो पार्किङमा पनि सजिलै पार्क गर्न सकिने भएको कारण उपभोक्ताको रोजाइमा वुलिङ मिनी परेको हो ।

नयाँ रेट्रो डिजाइनमा पाँचौं जेनेरेशन मोडल तयार भएको छ । कम्पनीले यसमा एलईडी हेडलाइट र टेललाइट दिएको छ । फ्लोटिङ ब्ल्याक रुफ, स्मुद र मोर्डन बडी डिजाइनमा आएको मिनी कारमा डिजिटल ककपिट दिइएको छ ।

सहरी क्षेत्रको लागि निकै उपयोगी मानिएको कारमा ३० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । सीएलटीसी टेस्टमा २०५ र ३०१ किलोमिटर रेन्ज दिने दावी गरिएको मिनी ह्याचब्याक कारमा १६.२ र २६.५ किलोवाट आवरको ब्याट्री रहेको छ ।

सानो ब्याट्री होस् या ठूलो ब्याट्री अप्सन दुवैसँग फोर डोर भेरियन्ट मात्रै नेपाल आउने छ ।


Back_to_top