काठमाडौं । टाटा मोटर्सले आफ्नो इन्ट्री लेभल ह्याचब्याक टियागो फेसलिफ्टको इन्टेरियर सार्वजनिक गरेको छ ।
कम्पनीले यही मे २८ तारिखमा लन्च गर्ने टियागो आइसीई र ईभी दुवैको इन्टेरियर सार्वजनिक गरेको हो । टाटाले आइस र ईभी दुवै भर्सनको इन्टेरियरमा उल्लेखनीय परिवर्तनहरू गरेको छ ।
सार्वजनिक तस्बिर अनुसार टियागो ईभीको क्याबिनमा धेरै परिवर्तन देखिन्छ । नयाँ टियागोको क्याबिन पहिलेकोभन्दा सफा र आधुनिक देखिन्छ ।
टाटाले टियागो ईभीमा गरेको मुख्य परिवर्तन रिडिजाइन गरिएको ड्यासबोर्ड हो । जसमा डुअल स्क्रीन सेटअप रहेको छ । बायाँतर्फ तेर्सो आकारको फराकिलो इन्फोटेनमेन्ट डिस्प्ले र दायाँतर्फ छुट्टै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जुन दुवै खैरो र कालो डबल टोन ट्रिटमेन्ट गरिएको सफा ड्यासबोर्ड माथि फ्लोटिङ अवस्थामा रहेका छन् ।
इन्फोटेनमेन्ट स्क्रीनको मुनि क्लाइमेट कन्ट्रोल प्यानलमा टियागो लेखिएका हातले घुमाउने रोटरी डायलहरू यथावत राखिएका छन् । सेन्टर कन्सोल क्षेत्रमा एकैसाथ दुईवटा फोनहरू राख्न मिल्ने दुईवटा प्याडहरू देखिन्छन् ।

ड्यासबोर्डको पूरै चौडाइमा फैलिएको फेब्रिक ट्रिम दिइएको छ। फेब्रिक फिनिसिङले क्याबिनलाई फराकिलो र प्रिमियम महसुस गराउँछ । विशेष गरी यो हल्का खैरो शेडमा निकै आकर्षक देखिन्छ ।
ड्राइभरको अगाडि एउटा नयाँ फ्री स्ट्यान्डिङ डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले रहेको छ । जसमा ईभी विशेष ग्राफिक्सले ब्याट्री चार्जको अवस्था, रिजेन लेभल र ब्याट्रीको जानकारी देखाउँछ ।
टाटाले ‘टाटा डट ईभी’ ब्राण्डिङ भएको नयाँ टु स्पोक स्टेयरिङ ह्वील पनि दिएको छ । स्टेयरिङमै रहेका कन्ट्रोल बटनहरूलाई यथावत राखिएको छ । स्टार्टरस्टप बटनलाई अहिले स्टेयरिङ ह्वीलको पछाडि ड्यासबोर्डमा सारिएको छ ।
सेन्टर कन्सोललाई पूर्ण रूपमा रिडिजाइन गरिएको छ। टियागो ईभीमा अब परम्परागत गियर लिभरको सट्टा रोटरी ड्राइभ सेलेक्टर (घुमाउने गियर नोब) दिइएको छ । यसको अगाडि यूएसबी चार्जिङ पोर्टहरूसँगै डुअल वायरलेस चार्जिङ प्याडहरू रहेका छन् । पछाडि बस्ने यात्रीहरूका लागि अब रियर एसी भेन्ट पनि उपलब्ध गराइएको छ ।

विन्डो स्विचको क्षेत्रमा हालै टाटा सिएरा देखिए जस्तै नयाँ डिजाइन ट्रिटमेन्ट दिइएको छ । आर्मरेस्टको माथिल्लो भागमा नरम फेब्रिक मेटेरियल प्रयोग गरिएको छ । जबकि स्विचहरू रहने बक्सलाई चम्किलो पियानो ब्याक फिनिसिङ दिइएको छ ।
अपडेटेड टियागो ईभीमा टाटाले ३६० डिग्री क्यामरा दिएको छ । एचभीएसी (एसी र हिटर)का लागि फिजिकल कन्ट्रोल बटन नै कायम राखिएको छ । जसले पूर्ण रूपमा टच बेस्ड प्रणालीहरूको तुलनामा दैनिक उपयोगितालाई सजिलो बनाउनेछ।
सिटहरूमा ड्यासबोर्डको डिजाइनसँग मेल खाने गरी हल्का थिमसहितको नयाँ डुअल टोन अपहोल्स्ट्री राखिएको छ । पछाडिको सिटको लेआउट धेरै हदसम्म पहिले जस्तै छ । यद्यपि पछाडि एसी भेन्ट्स थपिँदा यात्रीहरूका लागि व्यवहारिकतामा सुधार आएको छ ।
टाटाले टियागोको एक्सटेरियर पनि पूर्ण रूपमा नयाँ डिजाइन गरिएको छ । यसको अगाडि र पछाडिको भागमा नयाँ लाइटिङ र थपिएका फिचरहरू देख्न सकिन्छ । टिटागो आइसीई र ईभी दुवैमा अहिले पातलो एलईडी हेडल्याम्प र सफा डिजाइन सहितको नयाँ फ्रन्ट फेसिया दिइएको छ । ईभीको अगाडिको भाग पूर्ण रूपमा बन्द छ, जसमा ठाडो बम्पर एलिमन्ट्स र तलपट्टि ठूलो एयर इनटेक एरिया रहेको छ ।
यसको हेडल्याम्प सेटअप पहिलेभन्दा बढी एंगुलर देखिन्छ । यसमा एलईडी डीआरएल जोडिएको छ । पछाडिको भागमा टाटाले कनेक्टेड स्टाइलको एलईडी टेल ल्याम्प दिएको छ । जसमा स्मोक्ड ट्रिटमेन्ट गरिएको छ। यसले गर्दा टियागो पहिलेभन्दा निकै फराकिलो र प्रिमियम देखिएको छ ।

दुवै भर्सनमा परिमार्जित अगाडि र पछाडिको बम्परका साथै टेलगेट र लाइटिङको वरिपरि नयाँ डिटेलिङ गरिएको छ । टाटाले बम्परको तल्लो हिस्सालाई पनि सफा ज्यामितीय प्याटर्नमा रिडिजाइन गरेको छ । समग्रमा टाटाले टियागोलाई अझ आधुनिक लुक्स दिएको छ ।
टाटाले दुवै भर्सनमा नयाँ कलर अप्सन समेत थपेको छ । टियागो ईभी हल्का मिन्ट ग्रीन र आइसीई भर्सनमा आकर्षक कोरल ओरेन्जमा ल्याएको छ । ह्याचब्याक लाइनअपलाई युवापुस्ता लक्षित गरी यी नयाँ रङहरू समावेश गरिएको देखिन्छ ।
फेसलिफ्ट टियागोमा पावरट्रेन भने हालकै निरन्तरता दिने सम्भावना छ । टियागो आइसीईमा १.२ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ । यसमा म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प उपलब्ध हुनेछ ।
टाटाले टियागो ईभीमा भने हालै पन्च ईभी फेसलिफ्टमा जस्तै अपडेटेड ब्याट्री केमिस्ट्री र छिटो चार्जिङ सपोर्ट दिन सक्छ । हाल टियागो ईभीमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री अप्सन छ । जसले २९३ किलोमिटरसम्म रेन्ज दिन्छ । नयाँ टियागो ईभीको टप भेरियन्टमा भने नयाँ ३० किलोवाट आवरको ब्याट्री प्याक हुने सम्भावना छ ।


