यात्री पी २ को डिजाइन एसेम्बिलङभन्दा धेरै राम्रो छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै उत्पादन भएको यात्री पी २ इलेक्ट्रीक स्कुटरको डिजाइन नेपालमा  एसेम्बलिङ भएकाभन्दा निकै राम्रो रहेको बताएका छन् ।

सोमबार साँझ नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यात्री पी २ नेपालमा उत्पादन भएको ‘वर्ड क्लास प्रोडक्ट’ बनेको बताए । यात्री पी २ ले नेपालमा केही हुँदैन विदेश जानू पर्छ भन्ने भाष्य चिर्दै यहीँ धेरै राम्रो गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताए ।

उनले अरूको नक्कल भन्दा आफ्नो डिजाइन मार्फत विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे ।

‘धेरै विषय नेपालमा बाहिरबाट ल्याउनु पर्छ। यस्तो अवस्थामा डिजाइन, इन्जिनियरिङ र उत्पादन गर्न सक्नु ठूलो विषय हो,’ उनले भने, ‘अरूको नक्कलभन्दा आफ्नो डिजाइन मार्फत विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सकिन्छ । यो वर्ड क्लास प्रोडक्ट बनेको छ ।’

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालले डिजाइन, इन्जिनियरिङ र उत्पादन गर्न सक्छ भन्ने देखाएको बताएका छन्। उनले बजारमा नयाँ स्कुटर ल्याएको मात्रै नभई नेपालको सिर्जना रहेको बताए।

४४ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा रहेको सिप्रदी यात्री मोटरसाइकलसँग साझेदारी मार्फत नवप्रवर्तनलाई सफल बनाउन खोजेको बताए। उनले नेपालकै उत्पादन मार्फत प्रविधि क्षेत्रमा फड्को मार्न सक्ने बताए।

पी २ शुरूवात हो सिप्रदी र यात्रीको साझेदारीले भविष्य नयाँ प्रोडक्ट ल्याउने बताए। उनले नेपालमा विकास भएको प्रविधि विश्वमा फैलाउन चाहेको बताए।

यस्तो छ यात्री पी २

सिप्रदी यात्रीले निर्माण गरेको यात्री पी २ मा शक्तिशाली १० किलोवाटको मोटर छ । यो स्कुटर ५.२, ३.७ र ३ किलोवाट आवरको तीन ब्याट्री अप्सनमा उपलब्ध हुनेछ ।

ब्याट्रीको साइज अनुसार रेन्ज पनि फरक हुनेछ । सबैभन्दा ठूलो ५.२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा १५७ किलोमिटर रेन्ज दिन्छ ।

त्यसैगरी ३.७ किलोवाट आवर क्षमताको ब्याट्रीले ११२ किलोमिटर र ३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

यात्रीले पी २ मा स्कुटर सेग्मेन्टमै पहिलोपटक डीसी फास्ट चार्जर दिएको छ । ३.३ किलोवाटको फास्ट चार्जरबाट यो केबल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाइ छ ।

यो स्कुटर होम चार्जरबाट पनि निकै छिटो अर्थात् २ घण्टा ५० मिनेटमै ८० प्रतिशतस्म्म चार्ज हुन्छ । अरु स्कुटर फुलचार्ज गर्न सामान्यतया ४ देखि ७ घण्टासम्म लाग्छ ।

यात्री पी २ स्कुटरले एन्ड्रोइड अटो र एप्पल कार प्ले पनि सपोर्ट गर्छ । रियल टाइम इनर्जी मिटर, स्मार्ट डिस्प्ले प्रयोग भएको स्कुटरको ब्याट्री म्यानेजमेन्ट सिस्टम भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआएआई) बाट प्रमाणित रहेको छ ।

यात्री पी २ मा १३९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वीलबेस लामो हुँदा स्कुटर उच्च गतिमा गुड्दा वा खाल्डाखुल्डी भएको बाटोमा पनि बढी सन्तुलित र स्थिर रहन्छ। साथै, लेगरुम फराकिलो हुने भएकाले आरामादायी हुन्छ ।

सिप्रदी यात्रीले डिसी चार्जर सपोर्ट गर्नेगरी तयारपारेको स्कुटर चार्ज गर्न देशभर ३५ स्थानमा तत्कालै डीसी चार्जर स्थापना गर्ने भएको छ ।


Back_to_top