काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भमेला नाडा अटो शो २०२६ आजदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरू हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औं संस्करणको अटो शो बिहान साढे १० बजे उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने भएका हुन् ।
नाडाले ५० औं वर्ष पूरा गरेको अवसरमा यस वर्षको अटो शोलाई झन् विशेष र भव्य बनाउने बताएको छ । नाडा अटो शो ६ दिन अर्थात् साउन १४ गतेसम्म संचालन हुनेछ । अटो शोमा सवारी साधन, बैंक तथा बीमा, अटो कम्पोनेन्ट लगायतको २०० बढी स्टल रहने नाडाले जनाएको छ ।
यस वर्षको नाडा अटो शोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५३ ब्राण्डले सहभागिता जनाउँदै छन् । ती ब्राण्डहरूले डेढ दर्जन बढी नयाँ मोडलका सवारी लन्च गर्दैछन् । नाडा अटो शोको मुख्य आकर्षण नेपालमै पहिलो पटक उत्पादन भएको विद्युतीय स्कुटर यात्री पी २ रहने छ ।
प्रदर्शनीस्थललाई चारपाँग्रे, दुईपाँग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।
अवलोकनकर्ताले पहिले सवारीसाधन, बैंक, बीमा, सर्भिस र पाट्र्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । जसले गाडी किन्नेहरूले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् ।
नाडाका अनुसार प्रदर्शनीस्थल ह्वीलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरूको पर्याप्त व्यवस्था गरिएको छ । अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लू प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको नाडाले जनाएको छ ।
त्यस्तै, प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।
अटो शोमा सर्वसाधारणहरूको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ । अवलोकनकर्ताले खल्ती एपबाट अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।
सहभागी ब्राण्डहरू
प्यासेन्जर कार ब्राण्ड : रिडारा, आयोन, जेएमईभी, टाटा (ईभी), सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाइडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी (पारामाउन्ट मोटर्स), जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल, वुलिङ ।
लाइट कमर्शियल : फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स ।
दुईपाँग्रे : रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पारएप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्ट ।


