लेम्बोर्गिनी उरुस जस्तो ओमोडा ‘ओ-फोर’, छिट्टै नेपाल आउने

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरी ग्रुप अन्तर्गतको ओमोडा ब्राण्डमा नयाँ एसयूभी उत्पादन सुरू भएको छ । चेरीले अघिल्लो वर्ष सांघाई अटोशोमा पहिलो पटक देखाएको यो क्रसओभर एसयूभी यस वर्षको बेइजिङ अटो शोपछि थप चर्चामा रहेको हो ।

ओमोडाले सुरूमा सीथ्री नाम राखेर कन्सेप्ट देखाएको थियो । त्यसपछि प्रि-प्रोडक्सन मोडल ल्याउँदा ओमोडा फोर नाम राखिएको थियो । अब उत्पादनमा प्रवेश गरेसँगै यसको नाम ओमोडा ओ-फोर बनाइएको हो ।

नयाँ क्रसओभर एसयूभीलाई विश्व चर्चित कार लेम्बोर्गिनी उरुसको जस्तै डिजाइनमा ल्याएपछि यसले थप चर्चा पाएको हो । ठूलो एयर इन्टेक, स्प्लीट हेडलाइट, बुमेराङ स्टाइल टेल लाइटहरूको कारण यसलाई धेरैले उरुससँग तुलना गरेका हुन् ।

निकै फ्युचस्टिक र स्पोर्टी डिजाइनमा बनेको ओ-फोर ४.४ मिटर लामो हुनेछ । चेरीको ‘टी वान एक्स प्लेटफर्म’मा बनेको ओ-फोर एसयूभी हाइब्रिड र प्योर ईभीको रूपमा आउने छ । कम्पनीले यसमा रहने ब्याट्री र मोटर साइजको विषयमा कुनै जानकारी दिएको छैन ।


ओमोडा ओ-फोर फिचर लोडेड क्याबिनको साथ आउने छ । जसमा १३.२ इन्चको भर्टिकल टच स्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ५० वाटको वायरलेस चार्जर, कनेक्ट सर्भिस र १६ फिचर सहितको एडास सिस्टम उपलब्ध हुनेछ ।

कम्पनीले ठ्याक्कै यसको मोटर ब्याट्रीको विषयमा जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न रिपोर्टहरूले गरेको दाबी मान्ने हो भने दुई ब्याट्री अप्सनमा ओ-फोर एसयूभी आउने छ । जसमा ६१.१ किलोवाट आवर र ७७ किलोवाट आवरको ब्याट्री रहनेछ ।

छिट्टै नेपाल आउने

ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल कम्पनीले ओ-फोर क्रसओभर एसयूभी छिट्टै नेपाल ल्याउने सम्भावना रहेको छ । कम्पनीले यसअघि बजारमा आएका प्योर ईभी मोडल चाँडै नै नेपाल ल्याउँदै आएको छ । यस्तोमा नयाँ ओ-फोर छिट्टै आउने सम्भावना देखिन्छ ।


मूल्यका हिसाबले पनि उत्कृष्ट नै आउने सबैले अनुमान गरेका छन् । त्यसैले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को मुख्य आकर्षणको रूपमा ओ-फोर रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top