काठमाडौं । उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीलाई काठमाडौं महानगरपालिकाले पेनड्राइभ बाड्ने भएको छ । ट्राफिक नियम, सवारी चालक तथा यात्रुले पालना गर्नुपर्ने नियम तथा कर्तव्यको विषयमा विभिन्न जानकारी सहितको पेनड्राइभ सार्वजनिक सवारीलाई वितरण गर्न लागिएको हो ।
महानगरका अनुसार सो पेनड्राइभमा भएको अडियो हरेक सार्वजनिक सवारीले अनिवार्य बजाउनु पर्ने छ । महानगरका सहरी व्यवस्थापन प्रमुख हरीबहादुर कुँवरले उपत्यकाभित्र सार्वजनिक सवारी चालक, यात्रु तथा ट्राफिक प्रहरीमा चेतना जगाउने अभियानका रुपमा पेनड्राइभ बाड्न लागिएको बताए ।
‘तछाड मछाड गरेर गाडी गुडिरहेका छन्, गाडी भित्र ठेलम ठेल गरेर यात्रु लैजाने, ट्राफिकलाई एउटा सहचालकले झ्यालबाट जिस्काउन, जता यात्रु भेट्यो उतै गाडी रोक्ने, चालक, सहचालक र यात्रुको सभ्य व्यवहारका लागि हामीले अडियो बनाएर पेन्ड्राइभ वितरण गर्ने योजना बनाएका हौं,’ कुँवरले मेरोअटोसँग भने ।
यस कार्यक्रमले यात्रु तथा चालकलाई ट्राफिक नियममा हिड्न बाध्यकारी बनाउने उनले बताए । यसरी एउटा कुरा दिनभरी दोहोरि राख्दा चालक, सहचालदेखि सवारीमा चड्ने यात्रुलाई समेत ट्राफिक नियमको विषयमा जानकारी हुने उनले भनाई छ ।
‘हामी त्यो अडियोमा सवारी चालक, सहचालकले पालना गर्नुपर्ने ट्राफिक नियम, यात्रुसँग गर्ने व्यवहार र नियम उल्लंघन गर्दा यात्रु तथा सवारीचालकलाई हुने कारवाहीको विषयमा पनि जानकारी राख्ने छौँ, जसले चालक तथा यात्रु दुबैलाई सचेत गराउने छ,’ कुँवरले भने ।
यती मात्र नभएर स्वयम सेवक तथा ट्राफिकलाई सिभिल ड्रेसमा परिचालन गरि छड्के जाचको व्यवस्था मिलाउने र स्वही स्थानमा कारवाहीको व्यवस्था समेत मिलाउने उनले बताए ।
महानगरले यो कार्यक्रम ट्राफिक प्रहरी महाशाखासँग संयुक्त रुपमा सञ्चालन गर्न लागेको हो । यसका लागि धेरै खर्च नलाग्ने भएकाले चालू आर्थिक वर्षभित्र सञ्चालन गर्ने गरि कार्यक्रम अघि बढाउने कुवले बताए ।
उनका अनुसार यसमा ५/६ लाख रुपैयाँ लगानी गर्नु भए पुग्छ छ । यो कार्याक्रम सञ्चालन गरेपछि सार्वजनिक यातायातमा सवार गर्ने लाखौँ यात्रुमा जनचेतना फैलिने र सवारी तथा सडकमा हुने समभ्य घटनाहरु काम हुने अपेक्षा गरिएको उनले बताए ।


