अन्योलमा ३०० वटा बिद्युतीय बस खरिद प्रकृया, के भने अर्थमन्त्रीले

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतीय बस खरिद प्रकृया अघि बढेको बताएका छन् । उनले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको भोलिपल्ट मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा विद्युतीय बस खरिद प्रकृया अघि बढेको बताएका हुन् ।

उनले यातायात प्राधिकरणले विद्युतीय बस सञ्चालन गर्नेगरि कानुन तयार भइसकेको बताउँदै बस खरिद प्रकृया अघि बढेको बताएका  हुन् । तर, उनले भनेको यातायात प्राधिकरण भन्ने निकाय खडानै भएको छैन । 

‘यातायात प्राधिकरणले विद्युतीय सार्वजनिक बस चलाउने गरि कानुन तयार भइसक्यो, बस खरिद प्रकृया अघि बढिसकेको छ,’ अर्थमन्त्री खतिवडाले भने ।

खतिवडाले उक्त कार्यक्रम चालू आर्थिक वर्ष भित्रको भएकाले कामपनि यही आर्थिक वर्षमा पुरा हुने जनाएका हुन् । यद्यपी उनले बजेट बक्तव्यमा यातायात प्राधिकरण गठन गरी ३०० विद्युतीय बस सञ्चालनमा ल्याइने बताएका थिए ।

प्राधिकरण गठन हुन अझै समय लाग्ने

प्राधिकरण गठनको कुरा चलिरहे पनि अझै गठन भने हुन सकेको छैन । यता ३०० वटा बस कसले खरिद गर्ने भन्ने कुरासमेत टुंगो नलागेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।

‘सुरुमा प्राधिकरण गठन नभई खरिद प्रकृया अघि बढाउने कुरै हुन्न,’ दाहालले मेरोअटोसँग भने । अहिलेसम्म प्राधिकरण गठनको कुरा छलफलमै रहेको उनले बताए । उनका अनुसार प्राधिकरण बन्न कम्तिमा ३ महिना लाग्न सक्छ । 


Back_to_top