काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप एसएआइसीको स्वामित्वमा आएसँगै युरोपमा उत्पादन बन्द गरेको एमजीको नयाँ प्लाण्ट स्पेनमा बन्ने भएको छ । नयाँ प्लाण्ट स्पेन निर्माणपछि युरोपियन बजारको लागि कारहरू त्यहीँ प्लाण्टमा बन्नेछ ।
एसएआइसी ग्रुपले नयाँ प्लाण्टको घोषणा गर्दै २०० मिलियन युरो लगानी गर्ने जानकारी दिएको हो । कम्पनीले ‘इन युरोप, फर युरोप’ स्लोगनसहित युरोपमा प्लाण्ट लगाउने घोषणा गरेको छ ।
स्पेनमा बन्ने प्लाण्टबाट सन् २०२८ मा कार उत्पादन सुरू हुनेछ । उक्त प्लाण्टले वार्षिक १ लाख २० हजार कार बनाउने छ । साथै, २ हजार नयाँ रोजगारी सृजना हुने एसएआइसी ग्रुपले जनाएको छ ।
कम्पनीका अनुसार युरोपमा नयाँ प्लाण्ट मात्रै स्थापना हुने छैन । एमजीको रिसर्च एण्ड डेभलपमेन्ट, कम्पोनेन्ट सप्लाई र इन्टेलिजेन्ट लजिस्टिकमा काम गर्ने थलो पनि हुनेछ । जसले युरोपमा एमजीको लोकप्रियतालाई थप उचाइमा लैजाने छ ।
एसएआइसी ग्रुपले नयाँ प्लाण्टबाट धेरैभन्दा धेरै ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने जनाएको छ । साथै, हाइब्रिड भेहिकल पनि प्राथमिकताको साथमा उत्पादन गर्नेछ । युरोपमै उत्पादन सुरू भएपछि युरोपियन युनियनले लगाएको उच्च करबाट बच्न पनि एमजीलाई सहज हुनेछ ।
एमजीले सन् २०२५ मा युरोप भित्र ३ लाख ७ हजार युनिट कार बिक्री गरेको थियो । यसअघि नै युरोपमा ३ लाख युनिटको बिक्री पुगेपछि प्लाण्ट लगाउने घोषणा एसएआइसी ग्रुपले गरेको थियो ।
सुरूमा बेलायती ब्राण्ड एमजीलाई सन् २००५ मा एसएआइसी ग्रुपले किनेको थियो । त्यसपछि चीनमा उत्पादन भएका कार लिएर सन् २०११ मा पुनः बेलायती बजार मार्फत युरोप प्रवेश गरेको एमजी अहिले तीव्र गतिमा युरोपमा सफलता पाइरहेको ब्राण्ड हो ।
एमजीको युरोपियन बजारमा १ हजार ३०० डिलरहरू छन् । युरोपका ३४ देशमा एमजीका नयाँ कारहरू बिक्री हुँदै आएका छन् ।


