भारतमा ८५% इथानोल मिसाएको पेट्रोल बिक्री सुरू, मूल्य २१% सस्तो

काठमाडौं । भारतमा पहिलो पटक ८५ प्रतिशत इथानोल मिसाइएको (ई ८५) पेट्रोल बिक्री सुरू भएको छ ।

भारतका केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले नयाँ दिल्लीको पुसा रोडस्थित इन्डियन आयलको रिटेल आउटलेटबाट ई ८५ बिक्रीको उद्घाटन गरेका हुन् ।

ई ८५ पेट्रोलभन्दा निकै सस्तो मूल्यमा बिक्री सुरु भएको छ । ई ८५ को मूल्य प्रतिलिटर ८२.१२ भारतीय रुपैयाँ तोकिएको छ । यो दिल्लीमा तोकिएको पेट्रोलको मूल्यभन्दा २१ प्रतिशत अर्थात् २० रुपैयाँ कम हो । हाल दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२.१२ रुपैयाँ छ । मुम्बईको तुलनामा २८ रुपैयाँ सस्तो छ ।

हाल भारतमा ई २० मापदण्ड लागू भइरहेको छ । भारतमा ई ८५ बिक्री सुरु भए पनि त्यसबाट चल्ने सवारी भने उल्लेख्य मात्रमा उत्पादन भएका छैनन् । गत साता मात्रै हिरो मोटोकर्पले स्प्लेण्डर प्लस र एच एफ डिलक्स ई ८५ मोटरसाइकल सार्वजनिक गरेको थियो । त्यस्तै, चारपाँग्रेतर्फ सुजुकी वागन आर फ्लेक्स फ्युल कार सार्वजनिक गरेको थियो । अन्य अटो उतपादकहरूले पनि भारतमा फ्लेक्स फ्युलका प्रोटोटाइपहरू प्रदर्शन गरेका छन्। तर, उत्पादन बजारमा ल्याएका छैनन ।

ई ८५ बाट चल्न फ्लेक्स फ्युलगाडी सवारी चाहिन्छ । जसमा विशेष रूपमा डिजाइन गरिएका इन्जिन र इन्धन प्रणालीहरू आवश्यक पर्दछन् । जसले इथानोलका अद्वितीय गुणहरूलाई धान्न सक्छन् ।

इथानोलमा पेट्रोलको तुलनामा कम ऊर्जा हुन्छ । फलस्वरूप ई ८५ मा चल्ने गाडीहरूले समान दूरी तय गर्न सामान्यतया बढी इन्धन खपत गर्छन् । अर्थात् पेट्रोलको तुलनामा माइलेज कम हुन्छ । ब्राजिल र संयुक्त राज्य अमेरिका जस्ता अन्तर्राष्ट्रिय बजारहरूमा ई ८५ मा चल्ने फ्लेक्स फ्युल गाडीहरूको इन्धन दक्षता पेट्रोलको तुलनामा २० देखि ३० प्रतिशतसम्म घटेको पाइन्छ । ई ८५ इन्धनको मूल्य कम भए तापनि इन्धन दक्षतामा आएको गिरावटको कारण समग्रमा संचालन खर्च बढी हुन जान्छ ।

नेपालमा पनि आयल निगमले पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने तयारी गरिरहेको छ । यसका लागि सरकारले कानुनी बाटो खोल्दिसकेको छ । निगमले पनि इच्छुक आवेदकसँग आवेदन माग गरिसकेको छ । सम्भवतः चाँडै कार्यान्वनमा आउने देखिन्छ ।


Back_to_top