यामाहा R15-V3 डबल च्यानल एबिएससहित नेपाली बजारमा, यस्तो छ मूल्य

काडमाडौं । केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको यामाहा आर १५ भी ३ अब डुअल च्यानल एबीएससहित आएको छ । सार्वजनिक भएको छोटो समयमा नै नेपाली ग्राहकको मन जित्न सफल भएको बाइकमा कम्पनीले नयाँ सुरक्षा फिचर थप गरेर ल्याएको हो । यसअघि उपलब्ध बाइकमा भने एबीएस सुबिधा रहेको थिएन । 

भारत सरकारले बनाएको नयाँ सुरक्षा मापदण्ड अनुसार भारतमा १२५ सीसी भन्दा माथिका बाइकमा एबीएस अनिवार्य भैसकेको छ । यही अनुरुप भारतीय बजारमा यामाहाले केही समय अगाडि आर १५ भी ३ मा सिगंल च्यानल एबीएस सुबिधा थप गरेर सार्वजनिक गरेको भएपनि नेपाली बजारमा भने यसको डुअल च्यानल एबीएस भर्सन आएको छ । 

यो बाइकमा फोर–भल्भ, फोर–स्ट्रोक सिङ्गल सिलिन्डर भीभीए–१५५ सीसी क्षमताको लिक्विड–कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.४ बीएचपी पावर तथा ८ हजार ५ सय आरपीएममा १४.७ एनएम–टर्क जेनेरेट गर्छ ।

यसको रेसिङ्ग लूक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ ।

१५० सीसी सेग्मेन्टमा नै पहिलो भीभीए इन्जिन रहेको यो बाइकमा सिक्स–स्पीडको गियर बक्स रहेको छ । यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ । जसले गियर चेन्च गर्दा छिटो तथा क्लच रिलिज गर्दा बाइकमा आउने झट्कालाई कन्ट्रोल गर्छ ।

बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ, फ्यूल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ३५ किलोमिटर माइलेज प्रदान गर्छ ।

यसको रेगुलर भर्सनको मूल्य ४ लाख १९ हजार ९ सय ९९ रहेको छ भने, डबल च्यानल एबिएससहितको मूल्य ४ लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top