काठमाडौं । इटालियन मोटरसाइकल ब्राण्ड डुकाटीले मोटोक्रस सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा डुकाटीको डेज्मो २५० एमएक्स नयाँ मोडल लन्च गरेको हो ।
कम्पनीले हालै सार्वजनिक गरेको डेज्मो २५० डुकाटीको डेज्मो ४५० मा आधारित छ । यसमा दिइएको च्यासिस, इलेक्ट्रोनिक्स र समग्र प्लेटफर्म डेज्मो ४५० मा प्रयोग भएकै दिइएको छ । डुकाटीको डेज्मो मुख्य गरी अफरोड ट्रयाक रेसका लागि बनेको मोडल हो ।
डेज्मो २५० डुकाटीको सबैभन्दा सानो मोडल हो । यसमा २४९ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन जडान गरिएको छ । यो इन्जिनले अधिकतम १२ हजार ५०० आरपीएममा ४४.५ हर्सपावर र ८ हजार ८०० आरपीएममा २८.३ एनएम टर्क जेनेरेट गर्छ ।
५ स्पीडको गियरबक्स दिइएको यो मोटरसाइकलमा अपसिफ्ट क्विकसिफ्टर पनि उपलब्ध छ । डुकाटीको प्रसिद्ध डेज्मोड्रोमिक भल्ब सिस्टम प्रयोग भएकाले इन्जिन १५ हजार आरपीएमसम्म घुम्न सक्छ ।
कम्पनीले यसको इन्जिनमा मापन गरेको ८१ एमएम बोर र ४८.४ एमएम स्ट्रोक डुकाटीको सुपरबाइक पेनिगाले भीफोर आरको प्रत्येक सिलिण्डरसँग मिल्दोजुल्दो छ । यद्यपि, यसलाई मोटोक्रोस आवश्यकता अनुसार विशेष रूपमा विकास गरिएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा एल्युमिनियम पेरिमिटर फ्रेम, एल्युमिनियम स्विङआर्म, पूर्ण रूपमा एड्जस्ट गर्न मिल्ने सोवा सस्पेन्सन, काशिमा कोटिङयुक्त फोर्क, ब्रेकिङमा ब्रेम्बो क्यालिपर डुअल डिस्कब्रेक, पुरा डर्ट पिरेली स्कोर्पियन टायर र वायर स्पोक ह्वील रहेको छ ।
जम्मा १०३ किलोग्राम तौल रहेको डेज्मो २५० मा २ वटा इन्जिन म्याप, ३ स्तरको ट्र्याक्सन कन्ट्रोल, ३ स्तरको लन्च कन्ट्रोल र २ स्तरको इन्जिन ब्रेक एड्जस्टमेन्ट जस्ता आधुनिक इलेक्ट्रोनिक फिचरहरू छन् । जसलाई डुकाटी एक्स-लिंक एप मार्फत कन्फिगर गर्न सकिन्छ ।
डेज्मो २५० को विशेष आकर्षण भनेको पे्रडिक्टिभ मेन्टिनेन्स सिस्टम हो । यसले राइडिङ अवस्था र इन्जिनमा परेको दबाबको विश्लेषण गरी मर्मतको समय निर्धारण गर्छ ।
कम्पनीका अनुसार ४५ घण्टा प्रयोगपछि भल्भ क्लियरेन्स निरीक्षण, ४५-६० घण्टा बीच पिस्टन प्रतिस्थापन र ९०-१२० घण्टाबीच पूर्ण इन्जिन ओभरहोल सिफारिस गरिएको छ ।
डेज्मो २५० एमएक्स जुलाई २०२६ देखि युरोपका केही बजारहरूमा बिक्री सुरू हुनेछ भने उत्तर अमेरिकामा अगस्ट २०२६ देखि डेलिभरी सुरू हुने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकल आम प्रयोगकर्ताका लागि नभई मुख्यतः प्रोफेशनल रेसर तथा अफरोड राइडरहरूलाई लक्षित गरेर ल्याइएको हो ।


